कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन, सरकारमा पनि जाँदैन : देउवा

मोरङ, १० चैत । नयाँ सत्ता समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुरको मौनता ‘आश्चर्यजनक’ भन्दै पार्टीभित्रैबाट प्रश्न उठिरहेका बेला नयाँ सरकारबारे सभापति देउवाले विराटनगर पुगेर मुख खोलेका छन् ।

ओलीको विकल्पमा देउवाको कस्तो रणनीति रहला भन्ने चर्चा चलिरहेका बेला आज (मंगलबार) विराटनगर पुगेका देउवाले अहिले कांग्रेसले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने र सरकारमा समेत नजाने प्रष्ट पारेका छन् । आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याएका हुन् ।

देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’

कांग्रेस अहिलेको सरकारलाई स्वीकारेरै अघि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले दोहोर्‍याए, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’ देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा जाने विषयमा एउटै प्रश्न दोहो¥याएपछि पत्रकारसँग रिसाएका समेत छन् । विराटनगर पुगेका देउवालाई विमानस्थलमा पत्रकारहरुले ‘कांग्रेस सरकारमा कहिले जान्छ ?’ भन्दै प्रश्न गरेका थिए । पत्रकारको पहिलो प्रश्नमा देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन ।’

त्यसपछि पत्रकारले ‘सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव कहिले लैजान्छ ?’ भन्दै प्रश्न सोधेका थिए । त्यसमा देउवाले कांग्रेससँग छलफल नभएको भन्दै अरुले नै अविश्वास प्रस्ताव लैजाने बताएका थिए ।

‘त्यसो भए अविश्वासको प्रस्ताव कसले ल्याई दिनुपर्ने, जसपाले कि माओवादीले ?’ भन्दै राखेको प्रश्नमा देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै बस्ने बताएका थिए ।

त्यसपछि पत्रकारले ‘त्यसो भए अहिलेकै सरकारलाई समर्थन गरेर जाने अवस्था हो ?’ भन्दै प्रश्न सोधेपछि देउवा रिसाएका थिए । ‘हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हुँदैन ?’ पत्रकारले बुझ्दै नबुझी प्रश्न गरेकाले आक्रोशित देउवाले भने, ‘विपक्षी पार्टी ! विपक्षी पार्टी विपक्षी पार्टी ! जानुहोस् ।’ खासगरी कांग्रेस विपक्षमा बस्छ भनेपछि पनि यही सरकारलाई समर्थन हो भन्ने प्रश्नपछि देउवा रिसाएका थिए ।

०५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेललाई सम्बोधन गर्न देउवा धरान जान लागेका हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent