कर्णालीको सन्देशः ओलीदेखि राईसम्म कोही पनि सुरक्षित छैनन्

काठमाडौं। एमालेको एकल बहुमत रहेको कर्णाली प्रदेशमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत हुने र एमाले नेता यामलाल कँडेल मुख्यमन्त्री हुने सिधासिधा राजनीति थियो। तर, राजनीति सरल रेखामा अगाडि बढ्दैन। एमालेकै सांसदहरुले फ्लोर क्रस गरेर शाहीको सरकार जोगाइदिए। मुख्यमन्त्री बन्न तयारी अवस्थामा रहेका कँडेल जिल्लिए। कर्णालीमा शुक्रबार भएको यो नाटकीय राजनीतिक घटनाक्रमको सन्देश भने सोचेभन्दा धेरै फराकिलो र उथलपुथल ल्याउनेसम्मको छ।

देशका ७ प्रदेश मध्ये ४ वटा प्रदेशमा हाल एमालेको सरकार छ। केन्द्रमा पनि माओवादी समर्थनमा बनेको एमाले सरकार छ। तर, कर्णालीको शुक्रबारको घटनाक्रमले यी सबै सरकारमाथि चुनौती उत्पन्न हुने स्पष्ट संकेत गरेको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष निकटकै नेताहरु ४ वटा प्रदेशमा मुख्यमन्त्री छन्। लुम्बिनी, गण्डकी, बागमती र प्रदेश नम्बर १ मा। शुक्रबारको घटनाक्रमले स्वयम प्रधानमन्त्री ओलीको सरकारमाथि पनि संकट आउने संकेत देखिएको छ।

सरकारलाई दिएको समर्थन जारी राखेको माओवादी केन्द्रले ओलीको विकल्पका लागि सघन छलफल गरिरहेको छ। त्यसैले परिस्थिति अनुकुल बने तुरुन्त माओवादीले समर्थन फिर्ता लिने बताइरहेको छ। त्यो परिस्थिति अनुकुल हुनका लागि एमालेको माधव नेपाल समूहले फ्लोर क्रस गर्ने बचन दिनु हो। प्रदेशमा फ्लोर क्रस गरेको माधव समूहले केन्द्रमा नगर्ला भन्न सकिने अवस्था अब रहेन।

पार्टीमा समानान्तर गतिविधी गरिरहेको माधव समूहले प्रदेशमा फ्लोर क्रस गरेर केन्द्रलाई पनि सन्देश दिइसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा ४ जना सांसदको पद रिक्त भएको छ भने ४ जना नै निलम्बनमा छन्। एमालेको १२१ सिट छ।

उसलाई बहुमतका लागि थप १५ सिटको आवश्यक पर्छ। त्यसका लागि ओलीले जनता समाजवादीको एक घटकसँग निरन्तर छलफल गरिरहेका छन्। र जसपाको महन्थ ठाकुर समूहले सरकारलाई समर्थन दिने जनाऊ दिइसकेको बताइन्छ। तर, माधव नेपाल समूहले फ्लोर क्रस गर्दा जसपाको एक समूहले समर्थन गर्दैमा ओली सरकारलाइृ बहुमत पुग्ने देखिँदैन।

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ। ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सिटमात्र छ। त्यसैले अहिले गुरुङ अल्मतको सरकार चलाइरहेका छन्। त्यसमाथि सबै विपक्षी एकजुट भएकाले उनको सरकार पनि धरमराएको छ। त्यसमाथि माधव नेपाल समूहका सांसदले फ्लोर क्रस गर्ने सम्भावना देखिएपछि उनको सरकार पनि ढल्ने अनुमानलाई बल पुगेको छ।

यस्तै लुम्बिनी प्रदेशमा विपक्षीहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलन गरेर बसेका छन्। माधव समूहका एकजनाले पनि पोखरेलको विरोधमा जाने सम्भावना देखिए उनको सरकार पनि ढल्नेछ।

उता बागमतीमा पनि माधव समूहले यसअघि नै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो। तर, पछि फिर्ता लिएको थियो।

उता एमालेको एकल बहुमत रहेको प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध तत्कालिन नेकपा कायम रहँदा ल्याइएको अविश्वासको प्रस्ताव एमाले र माओवादी सक्रिय भएसँगै फिर्ता लिइएको छ। तर माधव नेपाल समूहले त्यहाँ पनि राईको सरकार ढाल्न सक्ने संकेत शुक्रबारको कर्णालीको घटनाक्रमले देखाएको छ। नेपाल खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार