
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु हुने भएको छ।उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने सहमति गरेको हो।

निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाका तयार भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।‘निषेधाज्ञा जारी गर्ने भन्ने भयो, अब के के खोल्न दिने के के नदिने र कसरी व्यवस्थापन गर्ने भन्ने खाका तयार हुँदैछ, त्यसपछि फेरि बैठक बसेर निर्णय सार्वजनिक गर्छौं’, प्रमुख जिल्ला अधिकारी पराजुलीले नेपालखबरसँग भने।
खाका तयार भइसकेपछि गृहसचिव महेश्वर न्यौपानेसँग छलफल गरेर निर्णय सार्वजनिक गर्ने तयारी सीडीओहरुको छ।संक्रमण फैलिन नदिन थप निर्णय गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरुले सरकारलाई समेत सिफारिस गर्ने तयारी गरेका छन्।मन्त्रिपरिषद्बाट गर्नुपर्ने निर्णय के के हुनेछन् भनेर त्यो पनि खाका तयार भइरहेको उनले बताए।



