मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिंदै, मन्त्री मनाङेले विपक्षमा मत दिने

गण्डकी प्रदेश सभा बैठक आज (बिहीबार) बस्दैछ । मध्याह्न १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।

जनमोर्चाले सांसदबाट कारबाही गरेका कृष्ण थापालाई सर्वाेच्चले पुनर्बहाली गरेसँगै थापाले मुख्यमन्त्रीको पक्षमा समर्थन गर्ने बताइसकेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले बहुमत पुर्‍याउने देखिएको छ । मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) ले कित्ता परिवर्तन गरेपछि गण्डकी प्रदेश सभा विघटन हुने जोखिम लगभग टरेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent