कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

किरण गजमेरले जिते द भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि

द भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेरले जितेका छन्। शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै अमेरिका बस्दै आएका किरणले उपाधि जितेका हुन्।

भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता गजमेरले २५ लाख रुपैयाँ पाएका छन्। उनले विजेताका रुपमा वर्ल्ड टुरको पनि मौका पनि पाएका छन्।

ad
द भ्वाइस अफ नेपालको ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसार हिमालय टेलिभिजन र युट्युवबाट गरिएको थियो। गत साताको सेमिफाइनलबाट चारवटा टिमका एक-एकजना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए।

ad
कोरोना संकटबीच चर्चित गायन रियालिटी सो द भ्वाइस अफ नेपालले तेस्रो विजेता पाएको हो। कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्राण्ड फिनालेमा पुगेका थिए।

यो सिजनको ग्राण्ड फिनालेमा टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ, टिम प्रमोदबाट हाल अमेरिकामा रहँदै आएका किरण गजमेर, टिम राजुबाट बागलुङकी तारा श्रीष मगर र टिम तृष्णाबाट भोजपुरका ज्वाला राईबीच प्रतिस्पर्धा भएको थियो।

दीपको टिमबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै दार्जिलिङका आर्यन अन्तिम चारमा पुगेका थिए। भ्वाइसमा ‘कान्छा छोरा’ का रुपमा परिचित आर्यनले ‘जेठा छोरा’ गोविन्दलाई भोटिङमा पछि पारेका थिए।

टिम प्रमोदबाट फाइनल पुगेका किरण गजमेर अमेरिकामा बस्दै आएका छन्। उनी भ्वाइसमा सहभागी हुनकै लागि नेपाल आएका थिए। उनले सिक्किमका रवि गहतराजलाई उछिन्दै उपाधि भिडन्त पक्का गरेका थिए।

टिम राजुबाट बागलुङकी तारा श्रीष मगर फाइनलमा पुगिन्। उनी भ्वाइसको फाइनलमा पुग्ने पहिलो महिला प्रतियोगी पनि भएकी छन्। ताराले काठमाडौंका सोनाम शेर्पालाई भोटिङमा उछिनेर फाइनल तय गरेकी थिइन्।

टिम तृष्णाबाट भोजपुरका ज्वाला राई फाइनलमा पुगेका थिए। ज्वालाले काठमाडौंकी अफ्रिता खड्गीलाई पछि पारे। सिजन-१ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन-२ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार