घर भत्केकालाई ३ देखि ५ लाखसम्म दिने सरकारको निर्णय

काठमाडौं, ३ कातिक । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको परिषद् बैठकले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र डुबानबाट पीडितहरुलाई उद्दार, राहत र क्षतिपुर्ति दिने निर्णय गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बुधबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा २० घर भत्केका तथ्यांक प्राप्त भएको छ । यस्तै उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णय भएको पनि पोखरेलले बताए । यस्तै अन्य कृषि बालीलगायतका क्षतिका सन्दर्भमा आवश्यक अध्ययन गरेर त्यसका आधारमा क्षतिपूर्ति दिने निर्णय भएको छ । त्यसका लागि कृषि मन्त्रालयको संयोजकत्वमा देशभर भएका क्षतिको लगत संकलन गरिनेछ ।

यस्तै प्रधानमन्त्री पनि बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने तय भएको पोखरेलले बताए । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार देशभर बाढी पहिरोबाट ५० जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent