कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भीम रावलबारे देउवा : ओलीले एमसीसी दर्ता गर्दा नबोल्ने, अहिले के का लागि विरोध?

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर एमाले नेता डा. भीम रावलले गरिरहेको विरोधमा आक्रोश पोखेका छन्। 

नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको सोमवार उद्घाटनका क्रममा सम्बोधन गर्दै रावलले दोहोरो चरित्र देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। 

देउवाले एमसीसी पास गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता गराएको पनि स्मरण गराएका छन्। 

‘एमसीसी संसदबाट पास गर्नुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नु भएको हो। त्यसबेला अर्थमन्त्री उहाँकै पार्टीको  हुनुहुन्थ्यो’, उनले भने, ‘अहिले भीम रावल सबैभन्दा धेरै एमसीसीको विरोध गर्नुहुन्छ। त्यसबेला उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो।’

यदि एमसीसी राष्ट्रघाती भएको भए त्यही बेला रावलले सरकार नछाडेकोमा देउवाले रोष प्रकट गरेका छन्। 

‘अहिले भीम रावल सबैभन्दा बढी एमसीसीको विरोधमा बोल्नुहुन्छ। त्यसबेला उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो। त्यसबेला किन मन्त्रीबाट राजीनामा गर्नु भएन? त्यसबेला के हेरेर बस्नु भएको थियो?’, देउवाले आक्रोशित मुद्रामा भने, ‘यदि एमसीसी खराब थियो भने उनले राजीनामा दिनुपर्थ्यो। अहिले आएर यस्तो दुई जिब्रे कुरा गर्न पाइन्छ?’

रक्षामन्त्री हुँदा संसदमा ल्याउन सघाएर आफूले पास गराउँदा विरोध गरिरहेको भन्दै देउवाले आपत्ति जनाए। ‘आफू मन्त्री हुँदा संसदमा लैजान सघाउने’, उनले भने, ‘ओलीजीले ल्याएको प्रस्ताव मैले पास गर्न खोज्दा किन विरोध गर्ने? आफैँ क्याबिनेटमा हुँदा विरोध नगर्ने त्यसबेला उहाँको दिमाग खुस्किएको थियो?’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार