प्रधानमन्त्री देउवाले मेयर बालेनलाई भने : तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन्।

भेटमा प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई समेत दिएका थिए। भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई चमत्कार भएको बताएका थिए ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार भेटमा प्रधानमन्त्री देउवाले मेयर शाहलाई भनेका थिए, ‘तपाईंले चमत्कार गर्नुभयो। म खुसी छु। पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ । काम पर्दा मलाई २४ घन्टा नै सम्झन सक्नुहुनेछ। फोहोर व्यवस्थापनको लागि जे-जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मेयर शाहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

यसअघि बालेनले मतपरिणाम नआउँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको तस्बिर मंगलबार सार्वजनिक भएको थियो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार