विवाहको उमेर हद : १८ वर्षमै बिहे गर्न पाइने गरी दुई वर्ष घटाउने तयारी

सरकारले महिला र पुरुष दुवैको विवाहको उमेर घटाउने तयारी थालेको छ।

अहिले २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ।

त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयारी भइरहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) ले बताए।

कांग्रेस सचेतक पुष्पा भुसालले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्नेबारे के काम भइरहेको छ भनेर प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रश्न सोधेकी थिइन्।

विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको बताउँदै उनले बाल विवाहमा सजाय भइरहेकाले कानुन संशोधन गरेरै बिहेको उमेर घटाउन प्रक्रिया अघि बढेको जानकारी दिए।

‘विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ। १६ वर्षमा नागरिकता पाउँछ। १८ वर्षमा भोट हाल्न पाउँछ। २० वर्षमा विवाह भन्ने कानुन छ’, उनले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन। यसले बरु अपराध बढाउने काम भइरहेको छ। बालविवाहमा सजाय भइरहेको छ। मन्त्रालयले कानुन संशोधन प्रक्रिया थालिसकेको छ।’

विद्यमान मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुबैले २० वर्ष नपुगी गर्ने विवाह बाल विवाह मानिने उल्लेख छ । 
२० वर्ष नपुगी बिहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म सजायँ हुने विद्यमान कानूनमा व्यवस्था छ । २० वर्षभन्दा कम उमेरमा गरेको विवाह बदर हुने अपराध संहितामा उल्लेख छ ।  

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार