कोशीको आन्दोलनमा मृत्यु भएका पदमबहादुर शहीद घोषणा

काठमाडौं । प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको उनले बताइन् ।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो । धरान उपमहानगरपालिका–१५ बस्दै आएका उनी लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो ।

पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको थियो । सरकारले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो ।

मन्त्रिपरिषद बैठकपछि मन्त्री शर्माले भनिन्, ‘कोशी नामाकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूू निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार