
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार निवास मण्डिखाटारबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सांसद शर्मालाई पक्राउ गरेको हो।
शर्मामाथि शैक्षिक प्रमाण पत्र कीर्ते गरेको अभियोग छ।
‘शैक्षिक प्रमाण गडबडी गरेको उजुरी आएपछि अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको हो,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी कुबेर कडायतले सेतोपाटीसँग भने।

गत मंसिरको प्रतिनिधि सभा चुनावमा शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनी काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक पनि हुन्।
शर्मामाथि नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोप केही समय पहिले पनि लागेको थियो।
वि.सं. २०७३ सालमा सिआइबीले नै शर्मामाथि यसबारे अनुसन्धान गरेको थियो।
केही दिनअघि सांसद शर्माले प्रतिनिधि सभा बैठकमा सुन प्रकरणबारे बोलेका थिए। उनले सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका थिए।
यसबारे कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले अस्पतालले बीमा रकम नपाएपछि शर्माले अनेक आरोप लगाइरहेको प्रतिक्रिया दिएका थिए।
‘अराजकता र अनुशासनहीनताको चरम रूप हो यो,’ महतले कांग्रेस केन्द्रीय कार्यालयमा साउन १० गते आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘उहाँ (सुनिल शर्मा) को अस्पताल छ। उहाँले बीमा हामीले पनि पाउनुपर्यो भन्ने माग गरिरहनुभएको थियो। उहाँले अर्थमन्त्रीले भनिदिए तुरून्तै बीमाको कुरा मिल्छ भन्नुभएको थियो। त्यो नहुनेबित्तिकै उहाँ भड्किनुभयो।’



