प्रचण्डलाई १४ बुँदे सुझाव बुझाउँदै रविले भने : राहत गोदाममा थुप्रियो, भूकम्पपीडितको बिजोग भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्पपछिको अवस्थाबारे सरकारलाई १४ बुँदे सुझाव बुझाएका छन्।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले रास्वपाकोतर्फबाट १४ बुँदे सुझावसहित पत्र बुझाएका हुन्।

‘पार्टीको कार्यक्रमका लागि पाल्पामा थियौँ। भूकम्पको खबर सुन्नेबित्तिकै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हामी सिधै जाजरकोट गएका थियौँ’, रविले भनेका छन्, ‘यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनुपर्ने कार्यको सूची तपाईंसमक्ष राखेको छु।’

लामिछानेले सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्‍याउन र गुणस्तरीय त्रिपाल आवश्यक रहेको सुझाव दिएका छन्।

यसैगरी भूकम्प प्रभावित जनता २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको देखिएको भन्दै उनले यसले उनीहरू निराश भएको देखिएको उल्लेख गरेका छन्।

रविले सरकार जनताको अभिभावक सरकार भएको स्मरण गराउँदै आमजनसमुदायमा सरकार रहेको प्रत्याभूति दिलाउन उपयुक्त कदम चाल्न आग्रह गरेका छन्।

राहत सामग्री वितरणमा एकरुपता नभएको पनि उनले बताएका छन्।

प्रशासन कार्यालयमा थुप्रिए पनि प्रभावितले नपाएको र एकद्वार प्रणालीको व्यवस्थापन खराब रहेको भन्दै सुधार्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

लामिछानले भूकम्पलगत्तै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका थिए। रास्वपाका केही सांसद र नेताहरू भूकम्पपीडितको उपचार र उद्धारमा जुटेका थिए। नेपाल खबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार