कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नयाँ ढङ्गले धक्का दिएर अर्को क्रमभङ्ग गर्ने तयारीमा छुः प्रधानमन्त्री प्रचण्ड

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि नयाँ धक्का दिएर जनताको पक्षमा काम गर्ने बताएका छन् । आज (शुक्रबार) सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री बनेको तेस्रो कार्यकालको एक वर्ष पूरा हुन लागेको उपलक्ष्यमा धक्का दिएर देश र जनताको पक्षमा काम गर्ने तयारी रहेको बताएका हुन् ।

‘मेरो तेस्रो कार्यकाल एक वर्ष पूरा हुँदैछ । एक वर्ष पूरा भएपछि मैले नयाँ ढंगले केही धक्का दिएर, अघि यहाँ हाम्रो मुख्यमन्त्रीजीले क्रमभंग भन्नुभयो, म साँच्चै क्रमभंग गर्दैछुृ । त्यतिबेला आम नेपाली जनताको साथ हुने कुरा पनि म विश्वास व्यक्त गर्न चाहन्छ्ु,’– उनले भने ।

केही मानिसहरुले अहिले नेपालमा केही गर्न सकिँदैन भनेर नयाँ भाष्य निर्माण गर्न खोजेको र नेपाललाई असफल बनाउनेतर्फ लागिपरेको उनले बताए । उनले नकारात्मक भाष्यबाट नेपाली जनतालाई निराश बनाउने र असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहनसमेत उनले अपील गरे ।

‘मानिसहरुमा अहिले एउटा भाष्य बडो नकारात्मक, जनतालाई निराश पार्ने, नेपाल अध्यारोमात्रै छ, उज्यालो काहीँपनि छैन, नेपाल बस्न लायक देश होईन भन्ने गलत भाष्य बनेको छ । म यो मञ्चबाट आम जनतालाई यो नकारात्मक भाष्यबाट नेपाली जनतालाई निराश बनाउने र असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपील गर्न चाहन्छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल उज्यालो छ, हाम्रो धेरै सम्भावना छ र नेपालको भूगोल, सम्पदा अन्य धेरै चिजहरुलाई प्रयोग गरेर विकास र समृद्धि सम्भव छ भन्ने विश्वास जनतामाझ जगाउन सरकार लागिरहेको उनले बताए ।

साथै, उनले केही दिनभित्रनै सुकुम्बासीलाई जग्गा दिने र वनलाई विकास विरोधी होईन भन्ने प्रमाणित गर्नका लागि सरकारले ऐन ल्याउन लागेको बताए । उक्त ऐन नेपालको इतिहासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने उनको दाबी छ ।

साथै, आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको उनको दाबी छ । उद्घाटन समारोहलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बताए ।

‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको छ । घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन्,’– उनले भने ।

प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको समेत स्मरण गराए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार