नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन्।
देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए।
‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ। तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ’, उनले भने।
सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे।
‘संविधान समावेशी छ। संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन। गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ’, देउवाले भने।
देउवाले यसो भनिरहँदा कांग्रेसभित्रकै डा. शेखर कोइराला र गगन थापाहरूले २०८४ को चुनावमा गठबन्धन नगरी एक्लै लड्नुपर्ने मतलाई बलियो बनाउँदै लगिरहेका छन्।
कार्यक्रममा कांग्रेस उपसभापति एवम् कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको औँल्याए।
देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुपर्नेमा उनले जोड दिए।
तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुने बताउँदै उनले भने, ‘विस्तृत शान्ति सम्झौतादेखि हालसम्म भएका उपलब्धि तीन दलको एकताले भएको हो। त्यो एकता अझै आवश्यक छ।’
यसअघि सभापति देउवाले कांग्रेस तनहुँको नवनिर्मित भवनको उद्घाटन गरेका थिए। नेपाली कांग्रेस तनुहँले निर्माण गरेको त्यस भवनको सभापति देउवाले शिलालेख अनावरण गरी उद्घाटन गरे। नेपाल खबर