प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिमा स्मृति सभा सम्पन्न

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न भएको छ l सभा हिजो चैत ३ गते शनिबार काठमाण्डौमा आयोजना भएको थियो l सभाका संयोजक वरिष्ठ चलचित्रकर्मी विनोद सेराङले स्व. सुब्बाको व्यक्तित्वको बारेमा चर्चा गर्दै उहाँको नाममा छिट्टै अक्षयकोश खडा गरिने र चलचित्र निर्देशक समाजसँग सहकार्य गरी सो कोश मार्फत हरेक वर्ष मौलिक चलचित्रका निर्देशकलाई पुरस्कृत गरिने कुरा जानकारी गराएका छन् l

स्मृति सभामा वरिष्ठ कलाकार रवि गिरीले प्रताप सुब्बा चलचित्र क्षेत्रमा वर्कशप चलाउने पहिलो निर्देशक भएको बताए l ‘प्रताप सुब्बासँग संगत भएर पनि कसैले मैले केही सिकिन भन्छ भने त्यो लापर्बाह मान्छे हो l मैले उहाँबाट जे जति सिकें त्यही कुरालाई आजसम्म अनुकरण गरेर यस क्षेत्रमा काम गरिरहेको छु’ कलाकार गिरीले भने l स्व. सुब्बा जस्तो समयप्रति अनुशासित, विषयवस्तुप्रति संवेदनशील र स्पष्ट विचारका निर्देशक नेपाली सिनेमा क्षेत्रमा अरु कोही नभएको पनि कलाकार गिरीले स्पष्ट पारेका छन् l

यसैगरी समारोहमा वरिष्ठ नृत्य निर्देशक कमल राईले आफ्नो धारणा राख्दै स्व. सुब्बालाई स्पष्टवक्ता र अद्वित्तीय नेत्तृत्वदायी क्षमता भएका व्यक्तिको रुपमा आफूले चिनेको बताए l निर्देशक स्व. सुब्बामा चलचित्रसँग सम्बन्धित हरेक कुराको उत्तिकै ज्ञान भएको धारणा राख्दै उनले भने-‘मेरो लाइफमा कोही गतिलो मान्छेको इन्ट्री भयो भने उहाँ नै हो l उहाँसँग भेट हुनु अघि म परिपक्क नृत्य निर्देशक भईसकेको थिईन l मलाई लाग्थ्यो, यस्तो मान्छे भेटियोस् जसले मलाई बाटो देखाओस् l उहाँलाई भेटेपछि म परिपक्क भएको हुँ l’

स्मृति सभामा वरिष्ठ छायाकार शिव ढकालले पनि केही चलचित्रमा स्व. सुब्बासँग सहकार्य गर्ने मौका पाएको बताउँदै हरेक निर्देशकले उहाँसँग सिक्नुपर्ने धेरै कुरा भएको धारणा राखे l ‘उहाँ कामप्रति यति अनुशासित र रुटिनवद्ध हुनुहुन्थ्यो कि भोलिपल्टको शुटिङ कतिबजे सुरु हुन्छ र कतिबजे प्याकअप हुन्छ भनेर हामीलाई अघिल्लै दिन थाहा हुन्थ्यो’ छायाकार ढकालले भने l यसैगरी लोकप्रिय कलाकार बिमला के.सी. ले स्व. सुब्बाको बारेमा शब्दमा वयान गर्न नसकिने कुरा बताइन् l ‘उहाँको बारेमा घन्टौं बोल्न सकिन्छ तर पनि कुरा बाँकी नै रहन्छ l मेरा अभिभावकहरुले भन्दा बढी उहाँले मलाई शिक्षा र संस्कार दिनुभएको छ l म आज जहाँ छु, जे छु उहाँले दिएको शिक्षा र संस्कारको देन हो’ कलाकार के. सी. ले भनिन् l म्युजिक डायरी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार