कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कियाचुको ३६ औ स्थापना दिवस सम्पन्न, कोशी र मुक्कमलुङमा केवुलकार खारेजीको चर्को माग

ललितपुर । याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ(किचायु)को ३६ औं स्थापना दिवस ५ दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ । कार्यक्रमको अन्तीम दिन अयोजित मुल समारोहमा यस बर्षको कियाचु रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार “तङसिङ मुन्धुम”का संकलक तथा सम्पादकद्धय मेहरमान लाबुङ र हर्कजंग कुरुम्बाङलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । चुम्लुङका पुर्व अध्यक्ष स्वर्गीय मन्जुलकुमार सिंह याक्थुङवाद्धारा स्थापित सो पुरस्कारको राशी १ लाख रुपैयाँ र सम्मान पत्र रहेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुल समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ(बैरागी काइला)ले धर्मले मानिसलाई विभाजन गर्ने तर संस्कृतिले जोड्ने बताउनुभयो । उहाँले मुन्धम लिम्बू जातिको महत्वपुर्ण सांस्कृतिक एवम् सामाजिक दस्तावेज भएको बताउदै पछिल्लो साढे तीन दशकमा मुन्धुमलाई दस्तावेजीकरण गर्ने सवालमा निकै उपलव्धीमुलक काम भएको समेत जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेनले पवित्र मुन्धुमी स्थल मुक्कुमलुङ(पाथीभरा क्षेत्र)मा जर्वजस्ती निर्माण गर्न खोजीएको केवुलकार तुरुन्त खारेज गर्न माग गर्नुभयो ।

अध्यक्ष यक्तेनले साविक प्रदेश नं.१ लाई पंचायती शैलीमा कोशी नामाकरण गरिएको बताउदै कोशी नाम खारेज गरि ऐतिहासिक भुगोल, सभ्यता र पहिचानको आधारमा नामांकन नगरिएसम्म आन्दोलन जारी राख्ने उद्घोष समेत गर्नुभयोे । किरात याक्थुङ चुम्लुङ स्थापना दिवसको अवसरमा आयोजित ५ दिने कार्यक्रमको पहिलो दिन गत भाद्र १३ गते साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार तथा मुन्धुम स्वर्णिम साँझ आयोजना गरिएको थियो

। यसै वर्षदेखि वितरण गर्न सुरु गरिएको साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार लिम्बू भाषाको गीत गायन, संगीत र शब्द लेखनमा विशेष योगदान पुर्याउनुभएका भगत सुब्बा, यासेली योङहाङ र प्रेम पन्धाकले प्राप्त गरेका थिए । कार्यक्रमको दोस्रो दिन साविक १ नम्बर प्रदेशलाई कोशी नामांकन गरिएकोमा त्यसको खारेजी तथा मुक्कुम्लुङ संरक्षणको सवालमा विचार गोष्ठी र तेस्रो दिन भाद्र १५ गते मुन्धुमी स्थल मुक्कुम्लुङमा “नो केवलकार” शीर्षकको कला प्रर्दशनीसंगै “कलामा आदिवासी प्रतिरोध” विषयमा अन्तरक्रिया आयोजना गरिएको थियो ।

कार्यक्रमको चौथो दिन भाद्र १६ गते विश्वभरि संगठित चुम्लुङका पदाधिकारीहरुसंग भर्चुअल शुभकामना आदनप्रदान गरिएको आयोजकले बताएका छन् । चुम्लुङको केन्द्रिय कार्यालय, चुम्लुङहिम ललितपुरमा सम्पन्न भएको ३६ औं स्थापना दिवस कार्यक्रमको संयुक्त आयोजकमा किरात याक्थुङ चुम्लुङ संघीय कार्य समिति, नेवाःताम्सालिङ कार्य समिति, काठमाडौ, ललितपुर, भक्तपुर र विषयगत समितिहरु रहेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार