काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले अप्ठ्यारो घडीमा पार्टी एकजुट छ भन्ने सन्देश दिन चीन भ्रमण छोट्याएर फर्किएको बताएका छन् । रास्वपा नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
१० दिनका लागि चीन भ्रमणमा गएका रास्वपाका १४ सांसद, नेता बिहीबार फर्किएका हुन् । उनीहरू चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा चीन भ्रमणमा गएका थिए । गोर्खा मिडियाका तत्कालीन सञ्चालक छबिलाल जोशी पक्राउ परेपछि तरंगित हुँदै रास्वपाले चीन भ्रमणमा रहेका सांसद नेतालाई यथाशक्य छिटो स्वदेश आउन भनेको थियो ।
‘घटना क्रमहरूबारे हामी अवगत नै थियौ । हामी १४ जना नै बसेर सामुहिक परामर्श गर्यौं अप्ठ्यारो घडीमा, पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन, त्यो संस्था हो । त्योमाथि प्रहार भइरहेको छ भने इगोका कारणले प्रहार भइरहेको छ भने हामी एकजुट भएर सामना गर्नुपर्छ । अहिले अप्ठ्यारो घडीमा हामी नेपाल नै हुनुपर्छ एकदमै एक मतका साथ निर्णय गर्यौं । हामीले भोलिपल्टै फर्कने तयारी गर्यौं । अहिले टिकटको चाप पनि र यता पनि सोचे जस्तो घटनाक्रम नभएकाले अलिकति हलुका हुने मौका मिल्यो,’ उनले भने ।
भ्रमणका तीनवटामध्ये दुईवटा कार्यसूची पूरा गरेर फर्किएको उपसभापति वाग्लेले जानकारी दिएका छन् । ‘अन्तिमको राजनीति भेटघाट चाहिँ पछि गर्ने कुरा भएको छ । हामीले भ्रमण छोटयाएका हौं, रद्द गरेका होइनौं । उहाँहरूले त्यत्रो महत्वका साथ आतित्थ्यता दिइराख्नु भएको थियो । हामीलाई असहज त पक्कै थियो । यो अप्ठ्यारो घडीमा पार्टी एकढिक्का छ, हामी सभापतिका साथमा छौं भन्ने सन्देश दिनुपर्ने थियौं । यो दुवैलाई हामीले सन्तुलनमा राख्यौं,’ उनले भने ।
सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेलाई पनि कारबाहीको सिफारिस गरेको छ । उनी गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक छँदा सहकारीबाट आएको पैसा दुरुपयोगमा जिम्मेवार देखिएको भन्दै कारबाही सिफारिस गरिएको हो ।