पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज (आइतबार) कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तर ४ दिनको मात्रै अनुमति दिइएको हो । जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार फेरि म्याद थप गर्न लागिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रुपमपा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान जारी छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौं, बुटवल र चितवनमा रहेका सहकारी ठगीमा पनि संलग्न रहेको आरोपमा बयानका लागि लगिएको थियो । लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशी, रामप्रसाद खनाल र लिला पछाइलाई पनि सोही अभियोगमा म्याद थप गर्न अदालत उपस्थित गराउने प्रहरीले जनाएको छ ।