काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले माओवादी धारका पार्टीहरूसँग एकता गर्न उच्चस्तरीय संवाद कार्यदल बनाउने भएको छ । आज (आइतबार) बाट काठमाडौंमा सुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको सन्दर्भमा विगतबाट पाठ सिक्नुपर्ने बताए ।
‘विगतमा स्कुलिङ नमिल्ने पार्टीबीच पर्याप्त तयारी नगरी एकता गर्दा अपेक्षाकृत परिणाम हासिल हुन सकेन । त्यसैले सकेसम्म जनयुद्धमा भाग लिएका वा शुभेच्छुकहरूसँगको एकतालाई प्राथमिकता दिइनेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसै सन्दर्भमा विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी र नेकपा (बहुमत) सँगको एकतालाई अघि बढाउन उच्चस्तरीय संवाद समिति बनाएर अघि बढाइनेछ ।’
यसअघि पनि माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीचमा एकता गर्ने भनेर संवाद सुरू भएको थियो । विप्लवको पद व्यवस्थापनबारे माओवादी केन्द्रमा कुरा नमिलेपछि उक्त विषय पछिल्लो समयमा रोकिएको थियो । यस्तै महिन्द्र राय यादव नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) सँग पनि माओवादीले पार्टी एकताको निर्णय गरेको थियो । यादव प्रतिनिधि सभा सदस्य छन् ।
२०७९ को चुनावमा नेसपा अध्यक्षसमेत रहेका यादवले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका थिए । २०८० चैत ३ गते बालुवाटारमा यादवलगायतले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेकोमा अर्का अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका थिए । भट्टराई अहिले नेसपा (नयाँ शक्ति) का अध्यक्ष छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) सँग पनि पार्टी एकताका लागि माओवादी केन्द्र संवादमा छ ।