
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार २०८४ मंसिरसम्म चल्ने बताएका छन् ।
आज (मंगलबार) पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले नेपाल श्रीलङ्काका बन्ने कुरा गरेको त कतिपयले बङ्गलादेशको कुरा गरे पनि त्यो सम्भावना नरहेको बताए । उनले लोकतान्त्रिक र संवैधानिक व्यवस्था बाहेकका गतिविधि अस्वीकार्य हुने भन्दै लोकतान्त्रिक मूल्य मान्यतामा सबै बस्नुपर्ने बताए ।

‘नेपालमा लोकतान्त्रिक र संवैधानिक व्यवस्था अन्तर्गत हुने सबै कुरा स्वीकार्य छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो बाहेक अरू प्रकारका प्रवृत्तिबाट अराजकताका बाटाबाट परिवर्तन सम्भव छैन, यसमा प्रष्ट हुनुपर्छ । ’ उनले विरोधीहरूले वर्तमान सरकार आजै ढल्ने भोलि नै ढल्ने भनेर प्रचार गरे पनि त्यस्तो अवस्था नरहेको दाबी गरे । ‘सरकार साँझ ढल्छ, राति नै ढल्छ । आज नढले भोलि नै सरकार ढल्छ, भोलि नभए पर्सि, नभए अर्को हप्ता नभए महिना भन्ने गरेका छन्’, उनले भने, ‘८४ मंसिरमा चुनाव हुन्छ अनि सरकार परिवर्तन हुन्छ ।’
अध्यक्ष ओलीले संसदमा अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले अगाडि बढ्ने बताएका छन् । नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले जनताका कुरा संसदमार्फत राख्ने भएकाले सत्य र तर्कसंगत कुरा बोल्न नहिच्किचाउन निर्देशन दिएका हुन् ।
उनले गलत कुराको भण्डाफोर गर्ने र सत्य कुरा संसदमार्फत सबैले राख्न पाउने बताए । प्रधानमन्त्री ओलीले सरकारले ल्याएको अध्यादेशले २९ वटा कानुनलाई छोएको जानकारी गराए । ओलीले ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याएर कानुन बनाउने बताए। अध्यादेशमा केही छुटपुट भए संसदमार्फत सच्याउने प्रतिबद्धता व्यक्त गरे। उनले देशमा रहेका युवालाई विदेश जानबाट रोक्न योजना ल्याउने उल्लेख गरे ।
0