
ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली आक्रमणको प्रयास गरिएको छ।
ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान-९ स्थित पुतली लाइनमा रहेको एचके मेलोडि क्लबमा आयोजित याक्थुङ चुम्लुङको पत्रकार सम्मेलनमा कालोमोसो दलेका हुन्।
माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरो गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलेर सचेत गराइएको जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले बताए। माबोलाई कालो मोसो दल्नेमा थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावति लगायतको उपस्थिति रहेको थियो।
पाथीभरा मन्दिर क्षेत्रमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम थालेपछि संघर्ष समितिले आन्दोलन सुरु गरेको छ। कालोमोसो दलेर कुटपिट गरिएका माबोले आफूलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन्। कालोमोसो दलेपछि माबोलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।
उनले घटनाको अनुसन्धान समेत थालिएको बताए। माबोलाई दुई दर्जन जनाको समूहमा आएका केबुलकार निर्माण विरोधीहरूले कुटपिट गरी कालो मोसो दलेका थिए। आफूलाई कालो मोसो दल्ने विरुद्ध मामोले कारबाहीका लागि प्रहरीमा किटानी जाहेरी दिने बताए। बिटिभी नेपाल बाट



