
निबन्धकार याेगी एल.वी. नेम्वाङकाे याक्थुङ भाषामा प्रकाशित पहिलो निबन्ध कृति ‘मुयेङ केए:प्पा याप्मिहा? (मुस्कुराउने मानिसहरू)’ काे विमाेचन भएको छ ।

गत मङ्गलबार फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान पान्थरकाे आयोजनामा पान्थरकाे राँकेमा गणतन्त्र नेपालका पहिलो कुलपति मुन्धुमविद वैरागी काइँलाले कृतिकाे विमाेचन गरेका थिए । फाल्गुनन्द गाउँपालिकामातहत रहेको प्रतिष्ठानले आयोजना गरेको साहित्य महाेत्सवकाे अवसरमा निबन्ध सङ्ग्रह लाेकार्पण भएको निबन्धकार निशेष आङ्देम्बेले जनाए ।

कार्यक्रममा विमाेचित कृतिमाथि प्रमुख अतिथि काइँलाले लामाे सारगर्भित मन्तव्य दिएका थिए । उनले पुस्तकमा विशेषत: याेग दर्शन, लिम्बुवान आन्दोलनका नेता एवम् भाषाका सर्जक वीर नेम्वाङ, ज्याेतिषशास्त्री र भाषाविद् रन्ध्वाेज नेम्वाङकाे जीवनी समावेश भएकोले किताब महत्त्वपूर्ण भएको प्रतिक्रिया दिए ।

कार्यक्रम फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका कुलपति समदर्शी काइँला (मनकुमार लाओती) काे अध्यक्षतामा सम्पन्न भएको थियोे ।