
दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार फिल्ममा समावेश ‘बेला बितेसी’ बोलको गीत सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा प्रकाश सपुत र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतमा प्रकाशकै शब्द र संगीत रहेको छ। प्रेमभावमा तयार पारिएको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ।
सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य कलाकार प्रकाशसहित स्वस्तिमा खड्का फिचर्ड छन्। मौसम हिमालीको कोरियोग्राफीमा रोमान्टिक देखिएका प्रकाश र स्वस्तिमाले छमछमी नाँचेका छन्।
यस फिल्ममा प्रकाश र स्वस्तिमासहित हरिवंश आचार्य, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपालको पनि अभिनय छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्य निर्माता हुन्। यो फिल्म दसैंको अवसरमा फूलपातीको दिन असोज १३ गतेबाट रिलिज हुँदैछ।



