
ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको खोकनामा यस वर्ष सम्पन्न भएको Echoes in the Valley -EITV_ महोत्सवले संगीतसँगै भाषा र लिपिको संरक्षण तथा प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । लोक, परम्परागत र आदिवासी संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने उद्देश्यसहित वार्षिक रूपमा आयोजना हुँदै आएको यस महोत्सवले याक्थुङ सिरिजुङ्गा लिपिको Live Calligraphy लाई विशेष स्थान दिदै आएको छ ।
यस वर्षको महोत्सव माघ ९ र १० गते चलेको थियो । महोत्सवको दोस्रो दिन (माघ १०) दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको Live Calligraphy ‘याक्थुङ साप्साक चुम्भो’ मार्फत टिकाध्वज आङ्देम्बे, क्रिश शाक्य, पवित्रा गुरुङ, पद्म बज्राचार्य र निसेन आङ्देम्बे लगायतका कलाकारहरूले याक्थुङ सिरिजुङ्गा लिपिमा प्रत्यक्ष लेखन प्रस्तुत गरेका थिए । यस सत्रले महोत्सवमा उपस्थित दर्शकहरूलाई याक्थुङ लिपि र भाषासँग प्रत्यक्ष रूपमा जोड्ने अवसर प्रदान ग¥यो ।

आयोजकका अनुसार, महोत्सव अवधिभर करिब ७०० जना आगन्तुकहरूले आफ्नो नाम वा आफूले चाहेको शब्द याक्थुङ सिरिजङ्गा क्यालिग्राफी गराएका थिए । यसले सिरिजङ्गा लिपिप्रति दर्शकहरूको उत्सुकता र आकर्षण झन् बढाएको देखिन्छ । भाषा केवल बोलचालको माध्यम मात्र नभई सांस्कृतिक पहिचानको आधार हो भन्ने सन्देश यस Live Calligraphy मार्फत प्रभावकारी रूपमा प्रवाह भएको थियो ।
Echoes in the Valley महोत्सवको विशेषता नै संगीतसँगै अमूर्त सांस्कृतिक धरोहर, भाषा, लिपि र समुदाय–केन्द्रित कला अभ्यासलाई एकै थलोमा ल्याउनु हो । यही उद्देश्यअनुसार हरेक वर्ष यस महोत्सवमा रञ्जना लिपि र याक्थुङ सिरिजङ्गा लिपिको कार्यक्रम नियमित रूपमा आयोजना हुँदै आएको छ । यसले नेपालका प्राचीन लिपिहरूको निरन्तर अभ्यास, दृश्यात्मक प्रस्तुति र नयाँ पुस्तासँगको सम्बन्ध मजबुत बनाउन योगदान पु¥याइरहेको छ ।
यस वर्षको महोत्सवमा संगीत प्रस्तुति, समुदाय–आधारित सांस्कृतिक गतिविधि र अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागितासँगै रञ्जना लिपि, याक्थुङ सिरिजङ्गा लिपिको Live Calligraphy कार्यक्रम महोत्सवको प्रमुख आकर्षणका रूपमा स्थापित भयो । यसले आदिवासी भाषा र लिपिको संरक्षण केवल शैक्षिक बहसमा सीमित नभई सार्वजनिक सांस्कृतिक अभ्यासको रूपमा पनि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।



