कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

त्रिशूलीमा खसेको बससँगै रौतहटका दुई परिवारका आठ जना बेपत्ता

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार राति खसेको पहिरोले सोहोरेर त्रिशूलीमा खसाएको बसँसगै रौतहटका एकै परिवारका चार जना बेपत्ता भएका छन् ।  दुर्घटनामा रौतहट बौधिमाई नगरपालिका–३ मटिअर्वाका एकै परिवारका चार जना बेपत्ता भएका हुन् । 

सिमलतालमा लेदोसहितको पहिरोमा परी गणपति डिलक्स त्रिशुलीमा बेपत्ता भएपछि बौधीमाई नगरपालिका–३ मटिअर्वा गाउँ र गरुडा नगरपालिका–९ को सिसवा टोल शोकमा परेको छ ।  
मटिअर्वा गाउँका परशुराम साह बनियाका छोरा कृष्णनन्दन साह बनिया नेपाली सेनामा भर्ना भएका थिए ।

छोरा पासआउट भएको बेला खुशीयाली साटासाट गर्न परिवारका सदस्यहरू काठमाडौँ आएका थिए । ५८ वर्षीय परशुराम साह बनिया, उनकी ५५ वर्षीया श्रीमती मिना देवी साह, २५ वर्षीय माइलो छोरा सरोज साह बनिया, भारत विहार पूर्वी चम्पारण जिल्ला घर भएका ज्वाइँ २८ वर्षीय नरेश  र २४ वर्षीय छोरी रिंकु असार २५ गते मङ्गलवार गणपति डिलक्सबाट काठमाडौं गएका थिए ।

छोरा कृष्णनन्दन पासआउट भई खुशीयाली साटासाट गरेर पुनः गणपति डिलक्सबाट घर फर्किरहेको अवस्थामा बिहीबार बिहान ३ः३० बजेको समयमा चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले बस बगाएको हो । परशुरामको माइलो छोरा सरोजले झ्यालबाट हामफालेर ज्यान जोगाए । तर परिवारका अन्य सदस्यको अवस्था अज्ञात छ ।

परशुरामले जेठा छोरा सुकनकुमारसँग राति १२ बजे अन्तिम पटक फोनमा कुरा गरेका थिए । ‘बुवाले भोली विहानै घर आइपुग्छु भनेका थिए तर बिहानै ओच्छ्यानमै गणपति डिलक्स त्रिशुलीमा खसेर बेपत्ता भएको खबर आयो । कल्पना समेत गर्न सकेका छैनौं,  सुकनकुमारले सुनाए । 

परशुरामसहित परिवारका चार सदस्य बेपत्ता भएका छन् । उनीहरु बेपत्ता भएपछि परशुरामको घर आफन्तहरूको जम्मा भएका छन् । यस्तै गरुडा नगरपालिका–९ सिसवा टोलकी ५० वर्षीय जुगेश्वर राय यादवले गाडीबाट हामफालेर ज्यान जोगाए । तर उनीसँगै सवार परिवार चार सदस्य बेपत्ता छन् ।

उनको ७ वर्षीय छोरा अशोक यादव, २७ वर्षीया छोरी अमृता यादव, अढाई वर्षको नाति शिवशङ्कर यादव र डेढ वर्षको नातिनीको अवस्था अज्ञात छ । उनी ७ वर्षीय अशोकको पेटमा रहेको घाउको उपचार गराउन र छोरीको ढाडमा रहेको समस्यालाई परीक्षण गराउन असार २० गते काठमाडौँ गएका थिए ।

रौतहट र वीरगञ्जका विभिन्न अस्पतालमा उपचार गराएर काठमाडौँ गएका उनीहरू गणपति डिलक्समा चढी रौतहट तर्फ आउने क्रममा दुखद दुर्घटनामा परेर बेपत्ता भए । उनको गाउँ सिसवा पुग्दा श्रीमती उमादेवी यादव अचेत अवस्थामा छिन् भने १८ वर्षीय जेठा छोरा सन्तोष यादव पीडामा छन् । 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार