कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

आज तिहारको दोस्रो दिन : लक्ष्मीपूजा र कुकुर तिहार मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ। आज घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायत स्थान सफा गरी दीपावली गर्ने परम्परा छ।

कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रीसमेत भनिन्छ। लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरिन्छ। त्यसपछि चामलको पीठो र अबिरले लक्ष्मीका पाइला बनाई घरभित्र प्रवेश गर्ने बाटो देखाउने चलन छ।

लक्ष्मीको स्वागतका लागि बाटोका पाइलापिच्छे केराको सुत्ला वा माटाका पालामा दीप प्रज्ज्वलन गरी घरलाई झिलीमिली बनाइन्छ।

दीपावलीपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक पूजा गरिन्छ। लक्ष्मीपूजापछि कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने परम्परासमेत छ।

धार्मिक विश्वासअनुसार लक्ष्मीपूजाको दिन घरबाट धनसम्पत्ति वा अन्य सामान बाहिर पठाउँदा लक्ष्मीसमेत बाहिरिने मान्यता रहेको छ।

यसैबीच, तिहारको दोस्रो दिन आज कुकुर तिहारसमेत मनाइँदै छ। घरको सुरक्षा गर्ने कुकुरलाई फूलमाला लगाइदिने, पूजा गर्ने र मीठामीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा छ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खुवाउँदा यमराजको ढोकामा द्वारपालका रूपमा रहने श्याम र सबल नामका कुकुरले यमलोक जाने बाटो सहज बनाइदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन्।

धार्मिक मान्यताअनुसार वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्राका क्रममा समेत साथ दिएको थियो।

आज्ञापालक तथा सुरक्षाका दृष्टिले भरपर्दो घरपालुवा जनावरका रूपमा चिनिने कुकुरलाई विशेष सम्मान गर्ने दिनका रूपमा पनि कुकुर तिहारलाई लिइन्छ। पछिल्लो समय कुकुर पाल्दा मुटु तथा मधुमेहसम्बन्धी रोगको जोखिम कम हुने विश्वास राख्नेहरू पनि बढ्दै गएको पाइन्छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |