
नयाँदिल्ली, २२ बैशाख । छिमेकी देश भारतमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दिन दिनै बढ्दै गएको छ ।
भारतमा आइतबार एकै दिन दुई हजार ८०६ जना नयाँ संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै धेरै संख्या हो ।
संक्रमणको कारण भारतमा शनिबार ६८ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ३९१ पुगेको वर्ल्डओमिटरले जनाएको छ ।
भारतमा अहिलेसम्म संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ । संक्रमितमध्ये ११ हजारभन्दा धेरै उपचारपछि ठिक भएका छन् ।
भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् । त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ ।
महाराष्ट्रमा १२ हजारभन्दा बढी मानिसमा संक्रमण देखिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातमा पाँच हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । राजधानी नयाँदिल्लीमा चार हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।
संक्रमण तीब्र हुँदै जाँदा भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन थपिएको छ । तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन् ।
कोरोनाको प्रभाव कम र बढी भएका क्षेत्रमा पनि लकडाउन खुकुलो र कडा पार्ने रणनीति भारतले अपनाएको छ । त्यसका लागि भारतले संक्रमण बढी र कम देखिएका क्षेत्रलाई रेड, यल्लो र ग्रिन जोनका रुपमा वर्गीकरण गरेको छ ।
यसैबीच विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ। सोमबार बिहान सवा ७ बजेसम्मको तथ्यांकअनुसार विश्वमा २ लाख ४८ हजार २ सय ४५ जनाले ज्यान गुमाएका छन्।
संक्रमितको संख्या ३५ लाख ६५ हजार नाघेको छ । सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म संक्रमणको कारण ६८ हजार ५ सय ९८ जनाले ज्यान गुमाएका छन् । एजेन्सी
नयाँ पेज बाट



