कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

रुपन्देहीमा बाढीले दर्जन घर बगे, ५० बढी घर डुबानमा

रुपन्देही, १० असोज । लगातारको वर्षाले रुपन्देहीका विभिन्न स्थानहरु डुबानमा परेका छन् । रोहिणी, तिनाउ, दानव नदी बस्तीमा पस्दा ५० बढी घरहरु डुबानमा परेको र ठूलो मात्रामा क्षति भएको छ । दर्जन बढी घर बगाएको स्थानीयले जानकारी दिएका छन् ।

अन्तपात, लत्ताकपडा, पशुपंक्षी बगेका छन् । नदी किनारका घरहरु बगेका छन् भने अन्य स्थानमा डुबानमा परेका घरहरु पनि भत्किएका छन् । डुबानका कारण केही स्थानीय घाइते समेत छन् ।

रोहिणी नदी सुकुम्बासी बस्तीमा पस्दा रोहिण गाउँपालिका–५, पिपरहवामा १८ घर डुबानमा परेका छन् । गोठहरु भत्किएका छन् भने खाद्यान्न, लत्ताकपडा, केही पशुचौपाया पनि बगेको स्थानीयले जनाएका छन् । यस्तै, पाक्ने बेलाको धानबालीमा पनि ठूलो क्षति पुगेको छ ।

पिपहरियामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेका कारण मानवीय क्षति भने नभएको रोहिणी गाउँपालिका अध्यक्ष हिरा केवटले जानकारी दिएका छन् । नदीमा बहाव उच्च हुँदा गए राति ३ बजे बस्तीमा बाढी पसेको र आफूहरु सुरक्षित रहे पनि सामानहरु जोगाउन नसकेको स्थानीय धनबहादुर आलेले बताए । पिपरहियामा २०६६ मा रोहिणी नदी बस्तीमा पस्ता ८ र २०७३ मा १४ घर बगेका थिए ।

पटक–पटक बस्तीका घरहरु बग्दा र डुवानमा पर्दा ठूलो क्षति भए पनि तटबन्ध र बस्ती स्थानान्तरणतर्फ कसैको ध्यान गएको छैन । स्थानीय भिमीसरा आलेले आफूहरुलाई अन्यत्र सार्न नभए तटबन्ध लगाइदिन माग गरिन् । उनले भनिन्, ‘सानोतिनो क्षति बर्सेनि हुन्छ, यसपल्ट बस्नै नमिल्ने गरी घरहरुमा क्षति पुगेको छ । हामीलाई राम्रो वासस्थानको व्यवस्था होस् ।’

भीषण वर्षा हुँदा रोहिणीसहित, तिलोत्तमा, ओमसतिया, मर्चवार, मायादेवी, देवदह, लुम्बिनी सांस्कृतिक, बुटवल उपमहानगरपालिकाका बस्तीहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढी पस्दा मर्चवार सडक नै अबरुद्ध भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका १३ मा स्थानीय बलिराम हरिजनको खरले छाएको कच्ची घर भत्किँदा उनकी श्रीमती कुसुमको दाहिने खुट्टा भाँच्चिएको छ । लुम्बिनीकै वडा नम्बर १२ मा ४ वटा घरका पर्खाल भत्किएका छन् । तिलोत्तमा नगरपालिका ८ सातकुला नहरले ४५ वर्षीय ठाकुरप्रसाद थारुको ब्लक र जस्ताले बनेको एकतले कच्ची घर भत्काएको छ ।

तिलोत्तमा गणेशनगरमा सुखौरा खोलाको बहाव बढेर गणेशनगरका धनबहादुर सार्की, रघुवीर दमाई, मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको छ । तिलोत्तमा १० मा रहेको पूर्णबहादुर गुरुङको कुखुराको खोरमा बाढी पस्दा ४ हजार कुखुरा मरेका छन् । खोरमा काम गर्ने ५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा., रुपन्देहीका प्रमुख एसपी तेज पाठकले जानकारी दिए ।

यस्तै देवदह नगरपालिका १० रम्बादेवीटोलमा चरंगे खोलाको बाढीले खोलाछेउ रहेको राम श्रेष्ठको ३ कोठे ब्लक र जस्ताले बनाएको घर र २ वटा बाख्रा, ५–६ वटा कुखुरा, लत्ता कपडा, खाद्यान्न र अन्य सामान बगाएको छ । वर्षाका कारण सम्मरीमाई ५ देबन्डीको प्रभावती मल्लाहको घर भत्किँदा ५ जना घाइते भएका छन् । घाइतेको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।

सम्मरीमाई र मर्चवारी गाउँपालिको भरवलिया, देबन्डी, मन्झरिया, लोहाटोला, बरगर टोला लगायतका क्षेत्रका १५ भन्दा बढी घरमा बाढीले क्षति पुर्याएको छ । यस्तै, बुटवल उपमहानगरपालिका, १७ रानीगन्जमा तिनाउ नदीले उमेश हरिजन, र पुरुषोत्तम पुरीको घर बगाएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिएका छन् ।
नेपाल आयल निगमले इन्धन भण्डारणका लागि किनेको रोहिणी नदी छेउको जग्गा पनि पूर्णरुपमा डुबानमा परेको छ । सो जग्गामा करिब ५ मिटरसम्म डुबान परेको छ ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार