
सिराहामा बोक्सी आरोपमा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ।
सिराहाको कर्जन्हा नगरपालिका ३ की ९० वर्षीया सुदामादेवी साहको शनिबार साँझ ५ बजे उपचारको क्रममा सिरहा अस्पतालमा मृत्यु भएको हो।
शनिबार दिउँसो स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सिरहा अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा साँझ सुदामादेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए।
गएको बुधबार सुदामा देवीलाई बोक्सीको आरोप लगाउँदै उनको कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडी निर्घात कुटपिट गरी मलमुत्र खुवाउने प्रयास गरेका थिए। गाउँलेले खबर गरेपछि समयमै प्रहरी पुग्दा दिसा खुउने प्रयास असफल भएपनि कुटपिटबाट सुदामादेवी गम्भीर घाइते भएकी थिइन्।
छोराले घाँटी थिचेर कुटपिट गर्दा उनी गम्भीर बिरामी परेकी थिइन् । उनलाई सोहिदिन जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । दुईदिनको उपचार पश्चात घर फर्काएको थियो।
छोराकी पत्नी बुहारी मनीषाको खुट्टामा घाउ भएपछि रामऔतारले आमामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै मलमूत्र खुवाउने प्रयास गरेका हुन्।
Bidh Lab
घटना लगतै फरार भएका राऔतारलाई दुईदिनपछि गएको शुक्रबार दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीका अनुसार पक्राउ परेका छोरा रामऔतारले अपराध स्वीकार गरिसकेका छन्। उनीमाथि हत्या अभियोगमा कारबाही प्रक्रिया अघि बढाएको सिरहा प्रहरीले जनाएको छ। नेपाल खबर बाट



