एमालेमा समानन्तर गतिविधि शुरु : नेपाल–खनाल समूहको आज महिला भेला

काठमाडौं, ६ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सकिए लगतै जनसंगठनहरूको समानान्तर सभा शुरु भएको छ ।

माधव नेपाल–झलनाथ खनाल समूहको आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी ब्यांक्वेटमा ११ बजे शुरु हुने भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले सम्बोधन गर्दैछन् । २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।

देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको यो समूहको भोलि युवा संघको भेला गर्दैछ । १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ । सर्वोच्च अदालतले पुनर्स्थापना गरेको एमालेभित्र विवाद बढ्दै जाँदा समानान्तर गतिविधि बढेको छ ।
नेपाल निवासमा प्रदेश–२ का केन्द्रीय सदस्यको बैठक
यस्तै आज नै वरिष्ठ नेता माधवकुमार नेपालको निवास (कोटेश्वर) मा प्रदेश–२ का केन्द्रीय सदस्यको बैठक बस्दै छ ।

ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको भोलिपल्ट कोटेश्वरमा केन्द्रीय सदस्यको २ नम्बर प्रदेशस्तरीय छलफल राख्न लागिएको हो । दुई दिन (चैत ४ र ५ गते) राष्ट्रिय कार्यकर्ता भेलामा सहभागिता जनाउने क्रममा अहिले काठमाडौंमै रहेका नेकपा एमाले सर्लाही जिल्ला कमिटीका अध्यक्ष रेवती पन्तले अहिले बिहान ११ बजे प्रदेश–२ का केन्द्रीय सदस्यको बैठक नेता नेपालको निवासमा बस्न लागेको जानकारी दिएका छन् ।

‘हाम्रो प्रदेश २ मा एमालेका केन्द्रीय सदस्य १५ जनाजति हुनुहुन्छ,’ जिल्ला अध्यक्ष पन्तले भने, ‘अब पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार