
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले आगामी आर्थिक वर्षमा सम्पन्न गरिने योजनाहरू सार्वजनिक गरेका छन् ।
चालु आ.व.मा नेपाली परम्परागत र मौलिक लोकबाजाको पाठ्यसामग्री, मौलिक र लोप हुने अवस्थामा पुगेका वालुङ, सौका जस्ता जातजातिहरूको लोकभाकाका साथै लोकबाजाहरूको अभिलेखीकरण गर्ने जस्ता अत्यन्त महत्वपूर्ण कार्यहरू सम्पन्न गरिरहेका प्राज्ञ राईले चालु आ.व. समाप्त हुन चार महिना समय बाँकी छँदै आगामी आ.व. २०७८÷०८९ का लागि नयाँ योजना ल्याएका हुन् ।
लोकप्रिय सङ्गीतकार तथा सङ्गीत संयोजकसमेत रहेका प्राज्ञ राईले आगामी आ.व.मा आफ्नो विभागबाट ‘प्रदेशस्तरीय मौलिक नेपाली लोकबाजा प्रशिक्षण’ परियोजना सञ्चालन गर्ने योजना तयार गरेको सुनाए ।
उनले भने– “सात ओटै प्रदेशका कम्तिमा तीन तीन स्थानमा भिन्दाभिन्दै लोकबाजा वादनसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना छ । लोकबाजा बजाउन सक्ने दक्ष कलाकार (जनशक्ति) उत्पादन गर्ने प्रमुख उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिनेछ ।” उनको महत्वकांक्षी योजना बारे छलफल भइरहेको को छ ।

नेपाली मौलिक लोकबाजाहरूको आर्केष्ट्रा सोच्नुभन्दा पहिले पर्याप्त मात्रामा ती बाजा वादनसम्बन्धी दक्ष कलाकार (जनशक्ति) उत्पादन गरिनु अपरिहार्य भएकोले यस्तो योजना ल्याइएको उनले प्रस्ट पारे । “भावी पुस्तालाई आफ्ना मौलिक लोकबाजा बजाउन र सैद्धान्तिक ज्ञान सिकाउनका लागि पनि यस्तो प्रशिक्षणमूलक कार्यक्रम जरुरी छ” उनले भने । यस अभियानमा सम्बन्धित सबै सरोकार पक्ष सबैको साथ र सहयोगको अपेक्षा गरिएको उनले बताए । नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृतिले सम्पन्न मुलुक हो ।
देशको विशिष्ट पहिचान भन्नु नै लोकसंस्कृतिहरू हुन् तर तिनको यथोचित संरक्षण र सम्वद्र्धन गर्नु जरुरी छ । मौलिक लोकगीत, लोकसङ्गीत र लोकभाकाहरूको जगेर्ना आजको चुनौती हो । तिनको जगेर्नाका लागि पनि भावी पुस्तालाई ज्ञान हस्तान्तरण गर्नु पर्ने हुन्छ । यही सत्यलाई आत्मसात गरेर नेपाली लोकबाजा वाद्यवादन सिकाउने पाठ्यसामाग्रीको तयारी अन्तिम अवस्थामा पुगेको सुनाउँदै प्राज्ञ राईले अब लोकबाजा वादन प्रशिक्षण प्रभावकारी हुने दाबी गरे



