
अपहरणकारीले सुतेको ओछ्यानसहित बेपत्ता बनाएका महोत्तरीको पिपराका एक दम्पतीको शव गाडेको अवस्थामा फेला परेको छ।फागुन ११ गते राति पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झालाई बेपत्ता बनाइएको थियो।
उनीहरुको शव पिपरा–१ एकरैयास्थित हत्या गरेर बोरामा बाँधी खाल्टोमा खनेर गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।
‘मृतक मुसाफिरले लगाएको टिसर्ट, गीताले लगाएको कपडा, हातको चुराको आधारमा शवको पहिचान खुलेको छ,’ उनले भने। खाल्डो खनेर निकालिएको शवको पहिचान परिवारजनले गरेका छन्।वृद्ध दम्पतीलाई अपहरण गरेर बेपत्ता बनाएको अभियोगमा प्रहरीले केही दिन अघि चार जनालाई सार्वजनिक गरेको थियो।
स्थानीय रामबाबु यादव, उनका जेठो छोरो सुरेन्द्र, कान्छो छोरो रोजेन्द्र र भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुरलाई पक्राउ गरिएको थियो।

उनीहरु विरुद्द बेपत्ता, अपहरणतथा शरीर बन्धक शीर्षकमा उजुरी दर्ता गरेर अनुसन्धान बढाइएको छ। अपहरण पश्चात बेपत्ता बनाएको किटानी जाहेरीका आधारमा झा दम्पतीलाई छिमेकीका एकै परिवारका तीन जना र अर्का एकजना जग्गा कारोवारी भारतीय नागरिकलाई ठाकुरलाई प्रहरी पक्रेको हो।
‘जग्गाको बिषयलाई लिएर झा दम्पतीलाई बेपत्ता बनाइएको खुलेको छ,’ एसपी आचार्यले भने, ‘अभियुक्त रामबाबुको घरमा देखिएको रगतको छिटा र गीता देवी सुतेको ठाउँमा फेला गरेको रगत मानवको र एउटै प्रकृतिको पुष्टि भएको छ।’गीता देवी सुतेको कोठामा देखिएको रगतको छिटा धौंईपखाली गरेकोले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।



