
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड खोपमा सहयोग गरिदिन आग्रह गर्दै पत्र पठाएकी छिन् । राष्ट्रपतिले बाइडेनलाई पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई शनिबार हस्तान्तरण गरेका छन् ।
यसअघि जेठ १२ गते पनि राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गर्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसको भोलिपल्ट बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गर्दै खोप खरिदमा सहजीकरण गरिदिन लागि अनुरोध गरेकी थिइन् । त्यस क्रममा राष्ट्रपति सीले नेपाललाई १० लाख खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालको राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका पठाएको पत्रलाई शनिबार राजदूत खतिवडा अमेरिकाको विदेश मन्त्रालयमै पुगेर हस्तान्तरण गरेका हुन् । त्यस क्रममा राजदूत खतिवडाले मसिन्गालाई नेपालको महामारी र खोप योजनाबारे जानकारी गराएको दूतावासले जनाएको छ । खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न मुलुकले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरोध गरेका थिए ।
नेपालले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख डोज खरिद गर्न पनि पत्राचार गरिसकेको छ । त्यस क्रममा राजदूत खतिवडाले सबै खोप जान्सेन फार्मास्युटिकल कम्पनीबाट खरिद गर्ने मनसाय पनि मसिन्गा समक्ष व्यक्त गरेका थिए । जवाफमा मसिन्गाले अमेरिकी सरकारको नेपालको वर्तमान महामारीलाई लिएर गहिरो सहानुभूति रहेको बताएको दूतावासले जनाएको छ । दूतावासका अनुसार उनले अमेरिकी सरकारले सकेसम्म कोभ्याक्स र द्विपक्षीय व्यवस्थापनमार्फत नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने प्रक्रियालाई छिटो अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।



