
काठमाडौं, २२ जेठ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नव नियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति नेपाल विखण्डन गर्ने बाहेक केहि नभएको बताएका छन् ।
संविधानको मर्म विपरीत काम गर्ने छैन भनेर सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूहरुले अहिले पनि सञ्चालन गरिरहेको भन्ने अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाएका हुन् ।
उनले भनेका छन्, ‘संविधानको धारा ४ मा स्पष्ट भनिएको छ, नेपाल अनेकौं विशेषतासहितको राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विखण्डन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन ।’
उपाध्यक्ष गौतमले राजेन्द्र गौतमको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिने समेत बताएका छन् । यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्य लागेको समेत बताएका छन् ।
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले जनता समाजवादी पार्टी (जसपा)का नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको कथित आन्दोलनले नेपाललाई विखण्डन गर्ने जिकिर गरेका छन् । उनले आज एक वक्तव्य जारी गर्दै महतोले बहुराष्ट्र बनाउने भनेर दिएको अन्तर्वाताले आफू दुःखी भएको पनि बताएका छन् ।



