के उत्तर कोरियाले अमेरिकासम्म मार हान्नसक्ने ब्यालेस्टिक मिसाइल बनाएकै हो ? बाहिरियो यस्तो रहस्य

सोल, २७ असार । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले यसैहप्ता जर्मनीमा सम्पन्न भएको जि२० सम्मेलनमा उत्तर कोरियासँग शान्तिवार्ताको प्रस्ताव गर्नुभएको थियो ।

सो वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशा आफूले गरेको मङ्गलबार जानकारी दिनुभएको छ । उहाँले शान्तिपूर्ण समाधान नै कोरियाली प्रायद्वीपको समस्या समाधानको एकमात्र बिकल्प हो भन्नुभयो ।

उहाँ सो सम्मेलनमा सहभागी भएर मङ्गलबार स्वदेश फर्किनुभएपछि सो धारणा राख्नुभएको हो । मङ्गलबार उहाँले कोरियाली मन्त्रिपरिषदको बैठकलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँले बर्लिनमा विश्व समुदायलाई सम्बोधन गर्दै आफूले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उत्तर कोरियाको सहयोगका लागि अपेक्षा गरिएको जानकारी गराउनुभएको थियो ।

यस प्रस्तावमा कोरियाले समर्थन गरेमा र शान्ति वार्ताका लागि तयार भएमा यसले कोरियाली प्रायद्वीपमा दिगो शान्तिको लागि सहयोग पुग्ने भएकोले आफूले सो प्रस्ताव गरेको जानकारी उहाँले दिनुभयो ।

सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्ध अन्त्यपछि यी दुई देश टुक्रिएका र त्यसपछि दुई देशलाई एक बनाउने र कोरियाली प्रायद्वीपमा दिगो शान्ति स्थापना गर्ने सम्बन्धी कुनै वार्ता भएको छैन ।

त्यसैले यस वार्ताले दुई देशका साथै कोरियाली प्रायद्वीपमा स्थापना हुने दिगो शान्तिले यस क्षेत्रमा नै सहयोग पुग्ने हुदा त्यहाँ शान्तिको स्थापना महत्वपूर्ण काम भएको उहाँको भनाई छ ।

उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण यस क्षेत्रमा तनाव उत्पन्न हुने क्रम जारी नै छ । सो तनावका कारण उत्तर कोरिया विश्व समुदायबाट पनि एक्लिँदै गएको महसुश बिगतदेखि नै भइरहेको हो ।

उत्तर कोरियाले गएको कम्तीमा दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ । साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकाको विरोध पनि गर्ने गरेको छ ।

गत हप्तामात्र पनि उसले लामो दुरीसम्म मार हान्न सक्ने खालको अर्काे परीक्षण गरेको थियो । उक्त पछिल्लो चरणको क्षेप्यास्त्र दक्षिण कोरियाले गरेको पाचौँ परीक्षण हो । यस लगत्तै उसले अर्काे छैठौँ र शक्तिशाली परीक्षणको तयारी गरिरहेको पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएका छन् ।

उत्तर कोरियाले विगतदेखि नै आफूले अमेरिकासम्म मार हान्न सक्ने क्षमताको ब्यालेस्टिक बनाउने बताउदै आएको छ । कोरियाको यो योजनालाई अमेरिकाले असम्भव कुरा भन्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार