काठमाडौँ — टीभीएस एभरेस्ट प्रिमियर लिग अन्तर्गत फाइनल खेलमा भैरहवा ग्लाडीयटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले उपाधि जितेको छ ।
विराटनगरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य भैरहवाले प्राप्त गर्न सकेन । भैरहवाका लागि कप्तान शरद भेषावकरले अर्धशतक बनाउँदै ५२ रनको पारी खेले ।ओपनर प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए ।
विराटनगरका अंशुमन रथले एकै ओभरमा ३६ रन खाएपछि टोली दबाबमा पारेको थियो । विराटनगरका लागि अनिल साहले ३, करण केसीले २ तथा कप्तान पारस खड्काले १ विकेट लिए । अन्तिम ओभरमा ९ रन आवश्यक परेकोमा भैरहवाले ३ विकेट गुमाउँदै ७ रन मात्र जोडेको थियो ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल खडा गरेको थियो । टोलीका लागि अंशुमन रथले सर्वाधिक ४१ रनको योगदान दिए । पारस खड्काले २७ तथा अनिल कुमार साहले २२ रन जोडे । भैरहवाका कृष्ण कार्की र भुवन कार्कीले २-२ विकेट लिए ।