नायक अनमोल केसीको जोडी बनेर चलचित्र ‘ड्रिम्स’ बाट डेब्यू गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चलचित्र यात्रा निकै सफल देखिएको छ । यो सफलताले उनमा कामप्रति हौसला बढाइरहेको छ । तर साम्राज्ञीले एकाएक आफू तनावमा रहेको बताएर दर्शक तथा फ्यानहरुलाई अचम्ममा पारेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले तनावको कारण पनि खोलेकी छिन् । उनको तनाव चलचित्र प्रदर्शनको मिति नजिकिएर नभई सामाजिक सञ्जालमा आएको एक समाचारका कारण रहेको स्पष्ट बनाएकी छन् ।
उनले आफूले कहिल्यै नभनेको र सोच्दै नसोचेको विषयलाई समाचार लेखेर आफूलाई अनावश्यक तनाब दिएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमा उक्त समाचारको खण्डन गर्दै सामाज्ञीले आफ्ना शुभ चिन्तकहरुलाई भ्रममा नपर्न पनि अनुरोध गरेकी छिन् ।
उनका बारेमा साम्राज्ञीलाई ‘गाउँले मन पर्दैन’ भन्ने शीर्षकमा समाचार लेखेपछि उनले आफूले यस्तो कुरा कहिल्यै नभनेको र नसोचेको भन्दै उक्त समाचारको खण्डन गरेकी छन् ।