बार्सिलोना कोपा डेल रे च्याम्पियन, स्वारेजको दुई गोल

एजेन्सी । स्पेनिस कोपा डेल रे  फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा सेभियालाई ५ – ० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रे को उपाधि जितेको हो । कोपा डेल रे फुटबलमा सर्वाधिक सफल टिम बार्सिलोनाको यो ३० औं उपाधि समेत हो । बार्सिलोनालाई यो सिजनको पहिलो उपाधि दिलाउन लुइस स्वारेजले २ गोल गरे । त्यस्तै लियोनल मेस्सी, कप्तान आन्द्रे इनिएस्टा र फिलिपे कौटिन्होले समान एक एक गोल गरे ।

सेभियाविरुद्ध सुरुवातबाटै आक्रामक खेलेको बार्सिलोनाले १४ औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको ४० औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३ – ० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल थप्यो । खेलको ५२ औं मिनेटमा कप्तान इनिएस्टाले गोल गर्दै बार्सिलोनालाई ४ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टीमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई ५ – ० को सहज जित दिलाए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार