नेविसंघ विवाद, महामन्त्रीले डाकेको वैठकमा अध्यक्षको आपति

काठमाडौं, १९  । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को विवाद थप चर्किएको छ ।

संघका अध्यक्ष नैनसिंह महर विधान, परम्परा र मूल्य मान्यता विपरीत मनोमानी ढङ्गले चलेको आरोप लगाउँदै महामन्त्री कुन्दनराज काफ्लेको समूहले केन्द्रिय समितिको बैठक डाकेको छ । काफ्ले समूहले बिहीबारका लागि बैठक बोलाएसँगै अध्यक्ष महरले संगठन विरोधी समूहको अवैधानिक कदम भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

महामन्त्री समूहले विधिवत रुपमा १२ औं महाधिवेशनका लागि केन्द्रिय समिति बोलाइएको दाबी गरेको छ भने सभापति समूहले महाधिवेशन हुन नदिने समूहले अवैधानिक रुपमा बैठक वोलाइएको आरोप लगाएको छ । ‘अध्यक्षको सहमति बिना बैठक बोलाउन मिल्छ ?’ महरले भने ।

संस्थापन पक्षले पनि आगामी १२ औं महाधिवेशनको विषयमा छलफल गर्न भन्दै २८ र २९ वैशाखका लागि केन्द्रिय समिति बैठक बोलाएको छ । सोअघि नै बैठक बोलाएको काफ्ले समूहले बैठकमा बहुमत निर्वाचित केन्द्रिय सदस्यको उपस्थित हुने दाबी गरेको छ ।
महामन्त्रीतर्फ लक्षित गर्दै महरले पोखरा महाधिवेशन भाँड्ने समूह नै १२ औं महाधिवेशन हुन नदिन लागेको आरोप लगाए ।

नेवि संघका केन्द्रीय सदस्य सुशील भट्टले अध्यक्षको कारण संगठनको गतिविधि शून्यप्रायः रहेको अवस्थामा संगठनलाई नयाँ दिशा दिनका निमित्त बैठक बोलाइएको बताएका छन् । बिहीबार बोलाइएको बैठकमा विधान विपरीत भएका मनोनयन, प्रक्रिया बाहिरबाट चयन गरिएका नेतृत्वलगायतका सवालमा छलफल हुने उनले बताए । नेविसंघमा १५० जनाको सदस्यीय केन्द्रिय समिति छ ।

मनोनित सदस्यहरुलाई मान्यता नदिने बताउँदै काफ्लेले केन्द्रिय सदस्य १२९ जनाको मात्रै रहेको बताए । तीन समूह रहेको नेविसंघमा दुई समूह बनाउने प्रयास गरिएको महामन्त्री काफ्ले दावी गरे । रामचन्द्र पौडेल पक्षधरका विद्यार्थी नेताहरुको पनि आफूलाई समर्थन रहेको उनले दाबी गरे । यसैबीच विहीबारका लागि डाकिएको केन्द्रिय समितीको बैठकमा सहभागि हुने ÷नहुने विषयमा छलफल गर्न पौडेल पक्षीय विद्यार्थी नेता मनोजमणि आचार्यको समूह महामन्त्री सशांक कोइरालाको घरमा पुगेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार