ओली–प्रचण्डले दिए ‘सरप्राइज’, भोलि नै पार्टी एकता, यसरी हुँदैछ तयारी

काठमाडौं, २ जेठ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्लो समय सम्बन्ध चिसिएको भनि हल्ला चलिरहेका बेला यी हल्लालाई झूटो सावित गर्ने गरी दुबै नेताले नेपाली राजनीतिमा ‘सरप्राइज’ दिएका छन् ।

मदन भण्डारीको २५ औं स्मृति दिवस (भोलि) को अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो । यी दुई पार्टीबीचको राजनीतिले कुनै नाटकीय रुप नलिए भोलि (बिहीबार) नै एमाले र माओवादीबीच पार्टी एकताको घोषणा हुँदैछ ।

उच्च राजनीतिक स्रोतका अनुसार भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । तर, आमसभा चाहिँ भने केही दिनपछि गरिने नेताहरुले जनाएका छन् । आज विहान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो । आज विहानको वान टू वान बैठकपछि ओली र प्रचण्डले हर्षित मुद्रामा फोटो खिचाएका थिए ।

‘अब एकताका लागि औपचारिकता मात्र बाँकी रहेको छ’, स्रोतले भन्यो । पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् । आज साँझ ४ बजे एमालेले स्थायी समिति र माओवादीले केन्द्रीय कार्यालय सचिवालयको वैठक आह्वान गरेका छन् । एमालेले प्रधानमन्त्री निवास बालुवाटारमै आज चार बजे स्थायी समिति बैठक बोलाएको छ ।

भोलि ११ बजेका लागि बालुवाटारमै केन्द्रीय समितिको पनि वैठक आह्वान गरेको छ । माओवादीले पनि ४ बजे पार्टी सचिवालयको बैठक बोलाएको छ । ओली र प्रचण्डको वान टु वान वार्ताले भोली १० बजे एकता संयोजन समितिको बैठक बोलाएको छ । यिनै विषयमा छलफल गर्न आजै बेलुका ४ बजे एमालेको स्थायी समिति वैठक बस्दैछ । यस्तै माओवादीले पनि एकताकै विषयमा छलफल गर्न साझ वैठक वोलाएको माओवादीका एक नेताले बताए ।

प्रचण्डले बेला–बेला २०५१ सालमै आफूले पार्टी एकताका लागि मदन भण्डारीसँग कुराकानी गर्ने तयारी भईरहेका बेला भण्डारी दुर्घटनामा परेको बताउँदै आएका थिए । पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन भोलि विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको एमालेका उपमहासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।

उनले पार्टी एकता संयोजन समितिले दुई दलबीचको कार्यप्रगतिलाई आधार बनाएर पार्टी एकताको टुंगो लगाउने पनि बताएका थिए । उनले दुई नेताहरुबीच भएको कार्यप्रगति विवरणबारे छलफल गरेर पार्टी एकता संयोजन समितिले आवश्यक निर्णय लिने जानकारी दिएका थिए । मंगलबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा एकताका विषयमा जानकारी लिन पत्रकारलाई आज ४ बजे बालुवाटार आउन आग्रह गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार