रोनाल्डोको पुनरागमन

लिस्बन — स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो टोलीमा फर्किएको खेलमा पोर्चुगलले विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको छ । पेरिस सेन्ट जर्मेनका फरवार्ड गोन्कालो ग्वेडेसको दुई गोलसँगै पोर्चुगल विजयी भयो ।

पोर्चुगलका बु्रनो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डो अल्जेरियाविरुद्ध गोलपछि । तस्बिर : रोयटर्स

गत सिजन भ्यालेन्सियाका लोनमा रहेका मिडफिल्डर ग्वेडेससँगै स्पोर्टिङ लिस्बनका मिडफिल्डर बु्रनो फर्नान्डेसले पनि एक गोल थपे ।

मार्चदेखि जितविहीन रहेको युरोपेली च्याम्पियन पोर्चुगलले पछिल्ला दुई मैत्रीपूर्ण खेलमा बराबरी खेलेको थियो । टयुनिसियासँग २–२ र बेल्जियमसँग गोलरहित बराबरीमा रोकिएको पोर्चुगलले अल्जेरियाविरुद्ध भने राम्रो प्रदर्शन गर्‍यो । रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधि दिलाएका रोनाल्डो थप विश्रामपछि टोलीमा फर्केका थिए । उनले अल्जेरियाविरुद्धको खेलसँगै राष्ट्रिय टोलीबाट १ सय ५० औं खेल पूरा गरे ।

रोनाल्डोको आगमनसँगै पोर्चुगलले आक्रमणमा निकै सुधार गरेको थियो । उनी पोर्चुगलको हरेक आक्रमणमा कहीं न कहीं आबद्ध रहेका थिए । उनले खेलको ७४ औं मिनेटमा मैदान छाडेका थिए । समूह ‘बी’ रहेको पोर्चुगलले जुन १५ मा स्पेनको सामना गर्दै विश्वकप यात्रा थाल्नेछ । अल्जेरिया भने विश्वकपमा छनोट हुन सकको छैन ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार