पूर्व राजा ज्ञानेन्द्रसहित सबै परिवार थाइल्याण्ड जाँदै, निर्मल निवासमा पारस मात्रै रहने

काठमाडौं, १५ साउन । पूर्व राजपरिवार बस्दै आएको निर्मल निवास भोलि (बुधबार) देखि रितो हुने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएपछि निर्मल निवासमा राजपरिवारको सदस्यहरुमध्ये पूर्व युवराज पारस मात्र बाँकी रहने भएका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित थाइल्याण्ड जान लागेका हुन् ।

शाह जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार थाइल्याण्ड जान लागेको निर्मल निवास स्रोतले जानकारी दिएको छ । पूर्व राजा ज्ञानेन्द्रको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र सशस्त्रका निजी सुरक्षाकर्मी डिएसपी शिव राउत थाइल्याण्ड जाने स्रोतले जानकारी दिएको छ ।

दुई वर्षअघि थाइल्याण्डमा उच्च शिक्षा अध्ययन गर्न गएकी जेठी नातिनी पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पढ्ने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्याण्ड जान लागेका हुन् । अध्ययनको बन्दोबस्ती मिलाउन पूर्व युवराज्ञी हिमानी शाह निजी सचिव स्मिता सिंहसँग यसअघि नै थाइल्याण्ड गइसकेका छन् । हिमानी छोरा हृृदयेन्द्रलाई लिएर एक साताअघि नै थाइल्याण्ड गएकी हुन् । पूर्व राजा ज्ञानेन्द्रको सपरिवार थाइल्याण्ड गए पनि निर्मल निवासमा पूर्व युवराज पारस मात्रै बाँकी रहने स्रोतले जानकारी दिएको छ ।

भिडियो हेर्नुहोस ,,

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार