२५ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले बुधबार लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा शान्तिनगर क्षेत्रबाट सरोज लामालाई पक्राउ गर्यो ।
ब्रिटिस फाइनान्स कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत लामाको पर्दा पछाडिको धन्दा गाँजाको बिक्री वितरण गर्नु भएको खुल्यो ।
उनले आफ्नो सेवाग्राही बानेश्वर क्षेत्रका विभिन्न होस्टलहरुमा बस्ने विद्यार्थीदेखि कलेजमा पढ्नेसम्म भएको बयान दिए । ‘फोन गरेर कति चाहिएको छ जानकारी गराउँछन् । त्यसपछि पशुपति गएर किनेर ल्याउँछु’, लामाले भनेका छन्, ‘त्यसपछि प्याक गरेर उनीहरुको जिम्मा लगाउँछु ।’
उनका अनुसार पशुपतीबाट ५ सय रुपैयाँमा किनेर ल्याएको गाँजालाई विभिन्न स-साना पोकामा प्याक गरेपछि ४ हजार रुपैयाँमा विक्री गर्न तयार हुन्छ । एक पटक ल्याउँदा ३५ सय नाफा हुने भएकाले यो धन्दामा लागेको उनले सुनाए ।
प्रहरी स्रोतका अनुसार काठमाडौंमा भित्रिने लागूऔषध सुन्दरीजल र साँखु क्षेत्रबाट आउँछ । हाल पक्राउ परेका लामामाथि प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।
बुद्ध ब्वाइज होस्टल ।
यसअघि पनि बानेश्वर क्षेत्रमा प्रहरीले आयोजना गरेको ‘टोलटोलमा प्रहरी’ कार्यक्रममा होस्टलमा बस्नेहरुले गाँजाको प्रयोग गर्ने र होहल्ला गर्ने गुनासो आउने गरेको थियो । तर, प्रहरीले प्रमाण हात पारिसकेको थिएन ।
लामाको बयानबाट होस्टलमा बस्ने विद्यार्थीलाई गाँजा सप्लाई हुने गरेको पुष्टि भएपछि बानेश्वर वृत्तका डिएसपी गोविन्दराज काफ्लेले नेपाल होस्टल एसोसिएसनसँग समन्वय गरेर अनुगमन गर्ने तयारी थाले ।
जनप्रतिनिधि, होस्टल एसोसिएसन, प्रहरी लगायतको टोलीले सुरु गरेको अनुगमनका क्रममा बिहीबार प्रहरीले विद्यार्थीको कोठाबाट तास खेल्दै गरेको अवस्थामा गाँजा बरामद गरेको छ ।
‘होस्टलका विद्यार्थीले होहल्ला गर्ने गरेको र मध्यराति आएर छरछिमकलाई समेत डिस्टर्ब गर्ने गरेको गुनासा त आएका थिए’, डिएसपी काफ्लेले अनलाइनाखबरसँग भने, ‘तर, अनुगमनका क्रममा स्थिति झनै भयावह भेटिएको छ । होस्टलमा विद्यार्थी कसरी लागूऔषध दुर्व्यसनमा फसेका रहेछन् भन्ने छर्लंङ भएको छ ।’