३० साउन, काठमाडौं । गएराति धोबीखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजारसम्मका बासिन्दा नराम्रोसँग प्रभावित भएका छन् । डुबानबाट लाखौंको क्षति भएको पीडितहरुले बताएका छन् ।
खोला किनारमा रहेका घर, पसल, कलेज, स्कुल, प्रेस, कार्यालयहरुमा दुई फिटसम्म पाँगो माटो जमेको छ । बाढी पसेपछि सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए ।
बुधबार बिहान बाढी घटेपछि पम्पसेट, मोटर र भाँडाकुँडा प्रयोग गरी पानी फाल्न र हिलो माटो पन्छाउन स्थानीयबासी व्यस्त देखिन्थे ।
मदन भण्डारी कलेज नजिकै रहेको एक मसला उद्योग सन्चालकले आफ्नो ८५ लाख मूल्य बराबरको क्षति भएको बताए । बजार पठाउनका लागि प्याकिङ गरेर राखिएको मसला हिलो र पानीमा डुबेर कामै नलाग्ने भएको उनले जानकारी दिए ।
‘बिजुलीबजारको आर्कब्रिजका कारण डुबान’
धोबी खोलाको पानीको सतह बढेर खोला किनारको सडक आधासम्म छोपिएको थियो । खोलाबाट झण्डै दुई सय मिटरको दुरीमा रहेको बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा समेत बाढी पसेको छ ।