संसारकै महंगा अभिनेताको सुचीमा अक्षय र सलमान

अमेरिकी विजनेस म्यागजिन फोब्र्सले सन् २०१७-१८ मा सर्वाधिक आम्दानी गर्ने अभिनेताहरुको सुची सार्वजनिक गरेको छ । यो सुचीमा दुई बलिउड अभिनेता अटाएका छन् ।

बलिउड अभिनेता अक्षयकुमार र सलमान खानले टप टेनमा स्थान बनाएका हुन् । अक्षय सातौं र सलमान नवौं स्थानमा छन् । यसअघि टप टेनमा पर्दै आएका शाहरुख खान भने यसपाली बाहिरिए । शाहरुखका पछिल्ला फिल्महरु रइस र जब ह्यारी मेट सेजल असफल भएकाले उनको आम्दानी घटेको छ ।

फोब्र्सका अनुसार सलमानले एक वर्षमा तीन करोड ८५ लाख डलर आम्दानी गरेका छन् । अघिल्लो वर्षको तुलनामा उनको आम्दानी बढेको छ । सुजुकी मोटरसाइकल र क्लोरोमिन्ट गमको विज्ञापनबाट पनि उनले आम्दानी गरेका छन् ।

तर, सलमानलाई अक्षयले उछिन्दै चार करोड ५ लाख डलर कमाएका छन् । यो वर्ष अक्षयका फिल्महरु बक्स अफिसमा लगातार सफल भएकाले अर्को वर्ष उनको स्थान झन् माथि पुग्ने अनुमान छ । टाटा र एभ्रेडी जस्ता २० भन्दा बढि कम्पनीको ब्रान्ड एम्बेसडर भएर अक्षयले आफ्नो आम्दानी बढाएका छन् ।

एक वर्षमा सर्वाधिक आम्दानी गर्ने स्टारहरुको सुचीको पहिलो नम्बरमा भने हलिउड स्टार जर्ज क्लुने रहेका छन् । उनले २३ करोड ९० लाख डलर कमाएका छन् । ५७ वषिर्य जर्जले आफ्नो ३५ वर्ष लामो फिल्मी करिअरमा पहिलोचोटि यो सुचीमा स्थान बनाएका हुन् । उनी अभिनेताका अलावा टकिला कम्पनीका मालिक पनि हुन् ।

सुचीको पाचौं स्थानमा चाइनिज अभिनेता ज्याकी चान छन् । उनले एक वर्षमा चार करोड ५५ लाख डलर कमाएका छन् । उनी हरेक वर्षजसो यस सूचीमा पर्दै आएका छन् । सन् २०१७ मा मात्रै चानका ६ वटा फिल्म प्रदर्शनमा आएका थिए । उनका आफ्नै मुभी थियटरहरु पनि छन् ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार