बच्चाहरुलाई ‘लभ’ होइन ‘माया’ गर्न सिकाएको हुँः विकास आचार्य

नेपाली चलचित्रको घरेलु बजार डामाडोल अवस्थामा रहेको बेला ‘नाई नभन्नु ल ५’ ले एक हप्ताभित्रै लगानी उठाउन सफल भएको हो । निर्माता-निर्देशक विकास आचार्य दंग छन् । नहुन् पनि किन, उनले वर्षकै पहिलो हिट चलचित्र दिए ।

‘नाई नभन्नु ल’ नेपाली चलचित्र जगतमा एउटा सफल ब्रान्डका रुपमा स्थापित भइसकेको छ । त्यसैले चर्चित कलाकारहरु पनि यो ब्रान्ड जोडिन आतुर हुन्छन् । निर्देशक आचार्यलाई यसमा कुनै घमन्ड भने छैन । आफ्नो ब्रान्ड सफल हुनुको श्रेय उनी दर्शक र यससँग जोडिएका कलाकारहरुलाई दिन्छन् ।

यसरी जुर्‍यो नाम
‘नसिब आफ्नो’ फिल्ममा ‘नाई नभन्नु ल’ बोलको गीत समावेश थियो । सो फिल्मको निर्देशन गरिरहेका आचार्यलाई यो शब्दावलीले स्ट्राइक गरेको थियो । त्यतिबेलै उनले सोचेका थिए, ‘नाई नभन्नु ल’ नाम राखेर लभस्टोरी फिल्म बनाउने । आफ्नो योजना उनले नृत्य निर्देशक कविराज गहतराजसँग सेयर गरेका थिए ।

‘नाई नभन्नु ल’ निर्माण गर्दा यसलाई सिरिजको रुपमा लैजाने कुरा उनको कल्पनामा थिएन । जीवन लुईंटेल र ऋचा सिंह ठकुरीलाई लिएर बनाइएको फिल्म हिट भयो । करिब ८० लाखमा निर्माण भएको फिल्मले एक करोड ८० लाख कमाएको आचार्य बताउँछन् ।

व्यवसायिका रुपमा सबैभन्दा बढि मुनाफा गर्ने (प्रतिशतको आधारमा) ‘नाई नभन्नु ल’ नै हो अहिलेसम्म । यद्यपि, आत्म सन्तुष्टीका हिसाबले आचार्य पाँचौं चलचित्रलाई एक नम्बरमा राख्छन् ।

‘नाई नभन्नु ल ५ बाट मैले सर्वाधिक सन्तुष्टी पाएको छु,’ उनी भन्छन्, ‘यसकोे कथावस्तु, कलाकारहरुको अभिनय, गीतसंगीत सबै अब्बल छन् ।’

‘हामी आफ्नो टिमलाई परिवारको रुपमा लिन्छौं, सबैले अपनत्व महसुस गरेर काम गर्छों, सफलताको एउटा कारण यो पनि हो’ आचार्य भन्छन् ।

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार