पहिरोले घर पुरियो, एकै घरका तीन बालबालिका बेपत्ता, बाबु–आमा गम्भीर घाइते

सल्यान, १८ भदौ । अविरल वर्षापछि झरेको पहिरोले घर पुरिंदा सल्यानमा एकै घरका तीन बालबालिका बेपत्ता भएका छन् ।

फाइल फोटो
बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलाका बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुर्दा उनका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका हुन् । डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी पहिरोमा पुरिएर बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।

बाबु–आमा भैंसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको वडाध्यक्ष दीपक वलीले जानकारी दिएका छन् । घटनास्थल सदरमुकामदेखि ५० किमी टाढा पर्छ । अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकाले उद्धार गर्न कठिनाइ भएको वडाध्यक्ष वलीले बताएका छन् । ‘पहिरो खस्नेक्रम अहिले पनि रोकिएको छैन’, वलीले भने ।

पहिरोमा परी घाइते भएर बेहोश भएका बाबु–आमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । घटनास्थलमा सञ्चार सुविधा नभएकाले थप विवरण बुझ्न कठिन भईरहेको बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले बताएका छन् ।

घटना लगत्तै उद्धारका लागि सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट टोली हिंडेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वर्षा नरोकिएको र पाँच घण्टा पैदल हिंड्नु पर्ने भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताएका छन् ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार