नेकपा प्रवक्ता प्रकाण्ड फेरि पक्राउ, भोजपुर लगियो

मोरङ, १९ भदौ । सर्वोच्च अदालतको तेस्रो पटकको आदेशपछि सोमबार रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवम् पूर्वमन्त्री खडगबहादुर विश्वकर्मालाई फेरि पक्राउ गरिएको छ ।

पक्राउपछि उनलाई भोजपुर लगिएको छ । मंगलबार काठमाडौंबाट श्री एयरलायन्सको विमानबाट प्रहरीले विराटनगरबाट भोजपुर लगेको हो । विश्वकर्मलाई विराटनगर विमानस्थलबाट सुनसरीसम्म पुर्‍याएको जिल्ला प्रहरी मोरङ प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिएका छन् ।
निर्वाचनताका चुनावी प्रचार–प्रसारका क्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा पक्राउ गरी कारबाहीका लागि भोजपुर लगिएको प्रहरी स्रोतले जनाएको छ ।

नुवाकोट प्रहरीले पक्राउ गरेकोमा त्यसविरुद्ध विरेन्द्र विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले प्रक्रिया नर्पुयाई थुनामा नराख्न आदेश दिएको थियो । विश्वकर्मालाई अदालतले रिहा गर्न आदेश दिए पनि बारम्बार छाड्दै पक्राउ गरेकोमा गम्भीर चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराएको थियो ।

यसअघि चन्दा असुली अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । त्यस लगत्तै उनलाई अदालत बाहिर प्रहरीले पुनः पक्राउ गरेको थियो । यस्तै उनलाई विभिन्न मुद्दामा काभ्रे र नुवाकोटको अदालतमा उपस्थित गराउँदा त्यहाँका अदालतले समेत छोड्न आदेश दिँदा समेत उनलाई प्रहरीले छोड्दै पुनस् अदालत परिसरबाटै पक्राउ गर्दै आएको छ ।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार