काठमाडौं, २७ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बुबा एकराज पन्त र आमा दुर्गादेवी अहिले छोरीको हत्यारालाई कार्वाहीको माग गर्दै आठमाडौं आइपुगेका छन् ।
आज (बुधबार) हरितालिका तीजले सबै महिला बालबालिकालाई छोएको । पशुपतिनलगायत घरघरमा तीजका गीत घन्किएका छन् । गृहिणी महिलादेखि किशोरीहरु रातो साडी चोलोमा सजिएर तीजको गीतमा रमाइलो मनाइरहेका छन् ।
तर, निर्मलाका बुबा–आमाको मनमा भने तीजको गीतले रमाइलो थप्नुको साटो थप पीडा दिइरहेको छ । तीजमा रमाइरहेका महिला–किशोरीहरुको भीडमा उनीहरु आफ्नो छोरी खोजीरहेका छन् ।
निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘छोरी भएको भए, अरु जस्तै आज यसरी नै खुशी भएर रमाइलो गरिरहेकी हुन्थी होला ।’ आफ्नो दाहिने हात रहेकी छोरी गुमाउँदाको पीडामाथि डेढ महिनासम्ममा पनि छोरीको हत्यारा पत्ता नलाग्नु बरु समातिएका पनि धमाधम छुटेपछि निन्याउरो बनेकी दुर्गादेवीले आँशु झाँर्दै भनिन्, ‘मलाई यो तीजको गीतले त छोरी यही कतै नाचिरहेकी होलाझै लागिरहेको छ ।’
निर्मला पन्त घर व्यवहारमा आमालाई काममा सघाउने मात्र होइन, पढाइ र चाडपर्वमा साथीभाइसँग रमाइलो गर्न मन पराउँथिन् । सानैदेखि तीज र अन्य चाडपर्वका बेला आफ्नो दौतरीलाई घरमा बेलाएर रमाइलो गर्ने गरेको बुबा एकराज पन्तले बताए ।
तीजमा रातो विहानैदेखि रातो साडी लगाएर पूजाआजा गर्ने र तीजको गीत बजाएर नाच्ने छोरीलाई सम्झिँदा बुबा एकराजले भने, ‘अपराधीको आँखा लाग्यो, फूल जस्ती छोरीलाई खोसेर लग्यो ।’ चोटै चोट बोकेर काठमाडौ आइपुगेका निर्मलाका बा–आमासँगै छोरीको हत्या घटनाको अनुसन्धान पनि नयाँ मोडमा आइपुगेको छ ।
घटनाको २४ दिनपछि मुख्य अभियुक्त भन्दै प्रहरीले दिलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गर्यो । प्रहरीको कथन भनाई थियो, ‘बष्टले अपराध स्वीकार गरेका छन् । उनी नै मुख्य अभियुक्त हुन् ।’ तर तीन हप्तापछि प्रहरीको त्यो कथन गलत सावित भयो ।
सरकारीको वकिलको कार्यालयको आदेशपछि मंगलबार बिष्ट रिहा भएका छन्। निर्मलाको शरिरमा फेला परेको डिएनए बिष्टको डिएनएसँग नमिलेपछि उनी रिहा भएका छन् । सोही घटनामा पक्राउ परेकी निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता बम पनि मंगलबार नै रिहा भएका छन् ।
छोरी मारिएको दुई महिना हुन लाग्दा पनि हत्यारा पत्ता नलागेपछि निर्मलाका बुवाआमा न्याय खोज्दै मंगलबार काठमाडौं आइपुगेका हुन् । राष्ट्रपतिदेखि प्रधानमन्त्रीलाई भेटेर छोरीका हत्यारा खोजिदिन आग्रह गर्ने उनीहरूको योजना छ ।
अब अनुसन्धान कहाँ केन्द्रित हुन्छ ?
स्वभाविक रूपले अगाडि दुईटा बाटा देखिएका छन् । पहिलो, बिष्टले प्रहरीलाई शुरूमा दिएको बयान आफैं भनेका थिए वा कसैले सिकाएको थियो ? त्यो अनुसन्धान गर्नुपर्छ ।
बिष्टले निर्मलाको बलात्कार र हत्याबारे वर्णन गरेका कुरा पोष्टमर्टम रिपोर्टसँग मिलेको बताइएको थियो । यहाँसम्मकी, उनले लगाएका भित्री कपडाको बयान पनि बिष्टले मिलाएकोले उनै अभियुक्त भएको निष्कर्षमा आफू पुगेको प्रहरीले बताएको थियो ।
डिएनए परीक्षणबाट उनी निर्दोष देखिएपछि यसले दुईटा सम्भावनातर्फ संकेत गर्छ । पहिलो, बिष्टलाई कसैले प्रलोभनमा पारी घटनाको सबै विवरण सिकाएर अपराध स्वीकार्न लगाएको । यदि त्यस्तो हो भने, प्रहरीले बिष्टलाई कसले प्रलोभनमा पारेको थियो ? अनुसन्धान गर्नुप¥यो । त्यो अनुसन्धानको शुरूआत बिष्टबाटै गर्नुपर्छ ।
यदि बिष्टले अपराध स्वीकारेका थिएनन् र प्रहरीले बाहिर झुठो विवरण भनेको थियो भने त्यो खास अपराधी बचाउनका लागि प्रहरीले अपनाएको हतकण्डा हो भन्ने प्रमाणित हुन्छ । त्यसो हो भने शुरूमा अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि अब अनुसन्धान केन्द्रीत गर्नुपर्छ ।
नेपाल प्रहरीका एक अधिकृतले भने अहिले पनि प्रहरीले अपराधी बचाउन झुठ बोलेको भन्ने स्वीकार्ने अवस्था नरहेको जिकिर गरे । २० दिनअघि अनुसन्धानपश्चात बिष्टलाई मुख्यअभियुक्त भन्ने प्रहरीले अहिले उनीमाथि थप अनुसन्धान गर्ने अवस्था छैनभन्दा त्यसले थप शंका जन्माएको छ ।
ती अधिकृतका अनुसार अब निर्मलाको बलात्कार र हत्या उखुबारीमा नै भएको हो कि होइन भन्नेबारे पनि अनुसन्धान थालिएको छ । ‘उनको शव उखुबारीमा भेटिएको थियो । तर बलात्कार र हत्या त्यहीँ भएको हो वा शव मात्र त्यहाँ ल्याएर फालिएको हो भन्नेबारे पुनः आंकलन गर्दैछौं,’ उनले भने ।
उनले बिष्ट दोषी नभएपछि शंकास्पद सबैलाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए । हिरासतमुक्त भए पनि बम दिदी बहिनी पनि प्रहरीको निगरानीमै छन् । ‘तर यो नै हो भनेर खुट्याउन अझै सकेका छैनौं,’ उनले भने ।
प्रहरीले अनुसन्धान केन्द्रीत गर्नुपर्ने अर्को पनि ठाउँ छ । अहिले निर्मलाको शरीरमा भेटिएको डिएनएको प्रोफाइल तयार भइसकेको छ । स्थानीयवासीले केही मानिसको नामै किटेर उनीहरू घटनामा संलग्न भएको बताउँदै आएका छन् ।
यस्तोमा प्रहरीले ती संदिग्धलाई पक्रेर डिएनए परीक्षण गराएर अनुसन्धानलाई टुंग्याउन सक्छ । तर प्रहरीले त्यसो गरेको छैन । ‘हामीले शंकास्पद ठानेका अरू ब्यक्तिबारे न्युनतम प्रमाण जुटाएपछि मात्र डिएनए परीक्षणमा लैजानु उपयुक्त हुन्छ,’ ती अधिकृतले भने, ‘केही प्रमाण नजुटाई डिएनए परीक्षणमा लगिहाल्न हतार नगरौं भन्ने हाम्रो धारणा छ ।’