मृत बच्चा जीवित भेटिएको भन्दै अस्पतालमा तोडफोड

६ असोज, सप्तरी । उपचारमा लापरवाही गरेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । अहिले अस्पतालको आकस्मिक सेवा प्रभावित भएको छ ।

रुपनी गाउँपालिका ६ तेरहौता निवासी अशोक साहका ढेड बर्षीय छोरा अरब साहलाई शुक्रबार साँझ अस्पताल ल्याइएको थियो । लडेर बेहोस भएको परिवारको भनाइ थियो । चिकित्सकले भने बच्चाको मृत्यु भइसकको भन्दै पोष्टमार्टममा पठाएका थिए ।

तर, शनिबार विहान बच्चाले आँखा खोलेको र र्‍याल निकालिरहेको देखेको भन्दै अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडका कारण अस्पतालको आकस्मिक कक्षको झ्यालका सिसाहरु फुटेको छ भने अन्य उपकरणहरुमा क्षति पुगेको छ ।

उनीहरुले बच्चालाई रेडक्रसको एम्बुलेन्समा राखेर सिरहाको चोहर्बास्थित नेपाली सेनाकोसर्पदंश उपचार केन्द्रमा पुर्‍याए । तर, त्यहाँ पनि मृत घोषणा गरेका छन् । ‘हाम्रो टिमले हरेक जाँच गर्दा पनि बच्चा ज्यूँदो देखिएन’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने, ‘पारामेडिक र सर्जन चिकित्सकले जाँच गर्दा बच्चा मृत्यु भइसकेको थियो ।’

उनले बच्चाको मृत्यु भइसकेपछि बच्चाका अभिभावकले नै पोष्टमार्टम गराइदिन प्रहरीमा जाहेरी दिएपछि पोष्टमार्टम कक्षमा लगिएको जानकारी दिए ।

लापरवाही आफ्नै

बच्चाको आफन्त तथा गाउँलेहरुको भनाइ मान्ने हो भने शुक्रबार दिउँसो अरब लडेका थिए । त्यसक्रममा रगत आएपछि डिटोल लगाइएको थियो तर, एक छिनमा अरब बेहोस भए । शुक्रबारै साँझ ७ बजेतिर अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले इसिजी जाँच गरे र बालकको मृत्यु भइरहेको जानकारी गराए । तर, अभिभावकले बच्चाको शरीरबाट कसरी रगत आयो भन्ने ठम्याउन सकेका थिएनन् । स्थानीयले भने बालक लडेको ठाउँमा सर्प देखेको बताएका छन् । त्यो सर्पलाई स्थानीयबासीले एउटा डिब्बामा बन्द गरेका छन् ।

बच्चा लडेको ठाउँमा सर्प देखापरेपछि मात्र आफन्तले सर्पले टोकेको थाहा पाएका छन् । ‘समयमै उनलाई अस्पताल ल्याइएको भए बचाउन सकिन्थ्यो’ अस्पताल प्रमुख डा. दासले भने, ‘आफैं लापर्वाही गर्नु, अनि अस्पतालमा दिनरात मिहिनेत गरिरहेका स्वास्थ्यकर्मीको मनोवललाई गिराउनु कतिसम्म उचित हो ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार